तीसौ वसन्त बिते देशलाई गरे अर्पण ।
कापी–कलम सम्हाली गरे पेशा शिक्षण ।।
शब्दका बीउ रोपी रहे बाल मनमा ।
आशा थियो, फुल्नेछ जीवन सपनाको वनमा ।।
साथीहरू परदेशी भए, फर्किए कमाई सम्पत्ति ।
कसैले महलमा जिन्दगी झल्काए सुनसरी ।।
कसैले नेताको पाउ माेली, बने मन्त्री पनि ।
म भने अझै पनि बाँचेको छु पुरानै जिन्दगी ।।
म त केवल सपनाहरू देखाउने मान्छे ।
आफ्नो सपना भुलेर अरूलाई सघाउने मान्छे ।।
देशकै माटोमा बिझाइ हिँडे कैयौ खाली पाइला ।
तर मेरै घरको छानो, अधुरो छ साईला ।।
साथीको घरमा संगमरमर, गाडीको घण्टी बज्छ ।
मेरो त कुचो लाग्ने कोठा, भुईभरि चिसो लाग्छ ।।
न त कुनै प्रमाणपत्रले, बल्दो रहेछ चुलो ।
न त कहिल्यै राज्यको ध्यान म तिर पर्यो ।।
आज पनि पीडा उस्तै, थियो हिजो जस्तै ।
तर प्रश्न राज्यलाई छ ,के बिगारे मैले कतै ।।
यहाँ म शिक्षक हुनु, ठूलो अपराध हो र ।
ईमानदारी भई काम, गर्नु अभिशाप हो र ।।
देशका हरेक सभ्य हातहरु लेखाउने म ।
तर आज आफ्नै हात रित्तिएको देख्ने म ।।
धेरै बोल्छन् मंचमा गई सम्झन्छन् भाषणमा ।
भोलिपल्ट म बिर्सि जान्छन् रमाउछन् शासनमा ।।
म रोएको देख्दैन समाज, किनकि म शिक्षक हुँ ।
म माग्दिन न्याय कहि, किनकि म शिक्षित हुँ ।
भित्रभित्रै चुँडिएको छु सहन्छु हजार चोट ।
शब्दमै बाँचेर म हाँस्नु छ हुर्काउनु छ वोट ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology