Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

कक्षा १२ को तीन वर्षे नतिजा विश्लेषण : अब्बल बन्दै देवदहका विद्यालय

कक्षा १२ को तीन वर्षे नतिजा विश्लेषण : अब्बल बन्दै देवदहका विद्यालय

कुन विद्यालयको अवस्था कस्तो छ ?
images
  • कक्षा १२ को तीन वर्षे नतिजा विश्लेषण :  अब्बल बन्दै देवदहका विद्यालय
    images
    images

    देवदह । देवदह नगरपालिकामा विद्यालय तह (कक्षा १२ सम्म) पढाई हुने विद्यालयको संख्या १३ छ ।  शैक्षिक 'हब'को रुपमा उदाइरहेको बुटवलसंग जोडिएको देवदहमा सामुदायिकतर्फ ९ र संस्थागत तर्फ ४ वटा विद्यालयले कक्षा १२ सम्म अध्यापन गराउंदै आएका छन् । 

    images
    images
    images

    भर्खरै एसइईको नतिजा सार्वजनिक भएको छ । कक्षा ११ मा भर्ना चलिरहेको छ । यसै सन्दर्भमा कक्षा १२ को गत तीन वर्षको नतिजाका आधारमा देवदहका विद्यालयहरुको शैक्षिक अवस्था कस्तो छ ? नतिजा र विद्यार्थी संख्याको आधारमा देवदहका कुन विद्यालय कति अब्बल छन ? समग्र देवदहको विद्यालय तहको नतिजाको रेकर्ड कस्तो छ भन्ने तथ्यांकको खोजी गरिएको छ । 

    images
    images
    images

    गत तीन वर्षमा देवदहबाट जम्मा २ हजार ७३३ विद्यार्थी कक्षा १२ को बोर्ड परीक्षामा सहभागी भएका भएका छन्, जसमा १ हजार ३३५ विद्यार्थी उत्तीर्ण भएका छन् । यस आधारमा देवदह नगरपालिकाको गत तीन वर्षको समग्र सफलता दर ४८.८७ प्रतिशत रहेको छ ।

    images
    images
    images

    २०७९ सालमा परिक्षामा सहभागी संख्या ९६० थियो, जसमा केवल २८२ जना उत्तीर्ण भए । जुन मात्र २९.३७ प्रतिशत हो । २०८० मा सहभागी संख्या घटेर ८१८ पुग्यो ।  तर नतिजामा सुधार देखियो । परिक्षामा ४०७ जना विद्यार्थी उत्तीर्ण भई सफलता दर ४९.७५ मा सुधार भएको देखिन्छ । २०८१ देवदहको विद्यालय शिक्षाको लागि महत्वपुर्ण रह्यो । २०८१ सालमा विद्यार्थी संख्या र सफलता दर दुवै वृद्धि भएको देखिन्छ । परिक्षामा सहभागी ९५५ विद्यार्थीमध्ये ६४६ विद्यार्थी उत्तीर्ण भएका छन् । जुन ६७.६९ प्रतिशत हुन आउँछ ।

    यसरी गत तीन वर्षको तथ्यांकले देवदहको समग्र शैक्षिक प्रणाली क्रमशः सुधारतर्फ उन्मुख रहेको देखिन्छ । यद्यपि सबै विद्यालयमा विद्यार्थी संख्या र तीनको सफलता दरमा समानता छैन, गहिरो अन्तर देखिन्छ ।

    कुन सालमा, कुन विद्यालयमा कस्तो नतिजा ?

    २०७९ सालमा कुल ९६० जना विद्यार्थी परीक्षामा सहभागी भए, जसमा २८२ जना मात्र उत्तीर्ण भए ।  समग्र सफलता दर २९.३७ प्रतिशत मात्र रहेको थियो, जुन गत तीन वर्षको सबैभन्दा न्यून हो । सो वर्ष सबैभन्दा राम्रो नतिजा देवदह बुद्ध पब्लिक आवासीय माविले ल्यायो । बुद्ध पब्लिकले प्रतिशतको आधारमा सर्वाधिक ५३.२८ प्रतिशत नतिजा प्राप्त गर्‍यो । 

    त्यस्तै, सामूदायिक विद्यालय केरवानी माविले उत्कृष्ट प्रदर्शनसहित ५१.४६ प्रतिशत नतिजा प्राप्त गर्यो । सगरमाथा आवासीय माविले ४८.८ विद्यार्थी उत्तीर्ण गरायो, जुन औसतभन्दा बढी हो । 

    त्यसैगरी सेभेन स्टार आवासीय मावि (३७.५ प्रतिशत), भविष्य निर्माण मावि (३३.३३ प्रतिशत) र ग्रीनप्लान्ट (३२.८ प्रतिशत) ले पनि केही हदसम्म सन्तोषजनक प्रदर्शन गरे । तर, सोही वर्ष प्रगति माविमा ३१ परीक्षार्थी सहभागी भएर एक जनासमेत उत्तीर्ण भएनन् । देवदह मावि (२५.९७ प्रतिशत), खड्ग मावि (१० प्रतिशत), सिक्टहन मावि (८.५७ प्रतिशत), जनप्रिय मावि (७.३ प्रतिशत ) र सिता मावि (५.४५ प्रतिशत) को अत्यन्तै कमजोर नतिजा देखियो । 

    त्यसैगरी २०८० सालमा देवदह बुद्ध पब्लिकले ६६.६६ नतिजा प्राप्त गरेर अघिल्लो वर्षको आफ्नो स्थान सुरक्षित गर्यो । सेभेन स्टार माविले ६५.७१ प्रतिशत, सगरमाथा माविले ५८.९९ प्रतिशत र ग्रीन प्लाण्ट माविले ५४ प्रतिशत नतिजा प्राप्त गरे  । तर, अघिल्लो वर्ष राम्रो गरेको केरवानी माविको नतिजा खस्किएर २७.६८ प्रतिशतमा खुम्चियो ।

    महामाया भवानी माविले ४६ प्रतिशत र देवदह माविले ४०.५५ प्रतिशत नतिजा प्राप्त गर्दा जनप्रिय माविले ३८.३३ प्रतिशत, सिता माविले २९.६२ प्रतिशत, भविष्य निर्माण माविले २२.२२ प्रतिशत, प्रगति माविले २०.५१ प्रतिशत, खड्ग माविले १८.१८ प्रतिशत र सिक्टहन माविले १३.७९ प्रतिशत नतिजा प्राप्त गरे । 

    २०८१ सालमा देवदह नगरपालिकाको समग्र सफलता दर ६७.६९ प्रतिशत पुग्यो ।  जुन विगत दुई वर्षको तुलनामा उल्लेखनीय सुधार हो । २०८१ मा सेभेन स्टार माविले ९२.३० सफलता दरसहित सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्यो । देवदह बुद्ध पब्लिकले ८५.८० प्रतिशत, सगरमाथा माविले ७४.१९ प्रतिशत, ग्रीन प्लाण्ट माविले ७४ प्रतिशत र केरवानी माविले ६८.२९ प्रतिशत नतिजा प्राप्त गर्दै औसतभन्दा माथि उक्लिए । 
     
    महामाया भवानी माविले ६३.८९ प्रतिशत, देवदह माविले ६०.७१ प्रतिशत, भविष्य निर्माण माविले ५७.१४ प्रतिशत र खड्ग माविले ५५.१७ प्रतिशत नतिजा प्राप्त गर्दै ५० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालयको सूचीमा नाम दर्ज गरे ।  तर, जनप्रिय मावि, सिक्टहन मावि र सिता माविको नतिजा ५० प्रतिशतसम्म पुग्न सकेन ।

    कुन विद्यालयमा कति विद्यार्थी ?

    २०७९ सालमा परिक्षामा सहभागी विद्यार्थी संख्याको आधारमा हेर्दा सबैभन्दा बढी विद्यार्थी सगरमाथा माविबाट सहभागी भए । सगरमाथाले १७८ विद्यार्थी सहभागी गराएको थियो । त्यसपछि केरवानीबाट १७१ जना, ग्रीन प्लाण्टबाट १२५, देवदह मावि र देवदह बुद्ध पब्लिकबाट समान ७७/७७ जना र सेभेन स्टारबाट ५६ जना परीक्षार्थी परिक्षामा सहभागी थिए ।  त्यस्तै महामाया भवानीबाट ५२ जना, भविष्य निर्माण माविबाट ४२ जना, सिक्टहन माविबाट ३५ जना, प्रगति माविबाट ३१ जना र खड्ग माविबाट २० जना विद्यार्थी परिक्षामा सहभागी भए । 
     
    २०८० मा सबैभन्दा बढी परीक्षार्थी ग्रीनप्लाण्ट माविबाट सहभागी भए । ग्रीनप्लाण्टले २०० जना विद्यार्थी परिक्षामा सहभागी गरायो । केरवानी माविले १३८ जना र सगरमाथा माविले १३९ जना विद्यार्थी परिक्षामा सहभागी बनायो । त्यसैगरी देवदह बुद्ध पब्लिकबाट ६३ जना, जनप्रिय माविबाट ६०, देवदह माविबाट ५८ र महामाया माविबाट ५० जना विद्यार्थी परिक्षामा सहभागी भए । अन्य विद्यालयबाट परिक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५० भन्दा कम देखियो ।  

    २०८१ मा पनि ग्रीनप्लाण्ट माविबाट सबैभन्दा बढी २२७ जना परीक्षार्थी सहभागी भए । सगरमाथा माविबाट १५५ जना र देवदह बुद्ध पब्लिक १३२ जना विद्यार्थीले परिक्षा दिए । केरवानी माविबाट ८२ जना, देवदह माविबाट ५६ जना र सिता माविबाट ५१ जना विद्यार्थीले परिक्षा दिए । अन्य विद्यालयबट परिक्षामा सहभागी हुने विद्यार्थीको संख्या जनप्रिय (४५), प्रगति मावि (४३), भविष्य निर्माण (४२), महामाया भवानी (३६), सिक्टहन (३१), खड्ग मावि (२९) र सेभेन स्टार (२६) रह्यो । 

     
    समग्र तीन वर्षको विद्यालयगत विद्यार्थी संख्या र नतिजा विश्लेषण

    देवदह नगरपालिकामा रहेका १३ वटा माध्यमिक विद्यालयहरूको पछिल्ला तीन वर्षको समग्र विश्लेषण गर्दा विद्यालयहरूको नतिजा र विद्यार्थी संख्याको बीचमा खाडल देखिन्छ । कतिपय विद्यालयले स्थायीत्व र निरन्तर सुधार देखाएका छन् भने केही विद्यालयहरूले लगातार कमजोर प्रदर्शन गर्दै आएका तथ्यांकले देखाएको छ ।

    देवदह बुद्ध पब्लिकले गत तीन वर्षमा कक्षा १२ को परिक्षामा २७२ विद्यार्थी सहभागी गरायो, जसमा १९६ जना उत्तीर्ण भई समग्र सफलता दर ७२.०५ प्रतिशत पुगेको छ । सगरमाथा माविले तीन वर्षमा ४७२ विद्यार्थीबाट २८४ उत्तीर्ण गराउन सफल भयो । जुन समग्रमा ६०.१६ प्रतिशत नतिजा हो । सेभेन स्टार माविबाट ११७ जना सहभागी भई ६८ जना उत्तीर्ण हुँदा समग्र सफलता दर ५८.११ प्रतिशत रह्यो ।  ग्रीन प्लाण्ट माविबाट सर्वाधिक ५५२ विद्यार्थी सहभागी भए, जसमा ३१७ जना उत्तीर्ण भई ५७.४२ प्रतिशत सफलता कायम रहेको देखिन्छ । 

    केरवानी माविले तीन वर्षमा ३९१ परीक्षार्थी मध्ये १९३ उत्तीर्ण गरायो, जुन ४९.३६ प्रतिशत हो ।  गत तीन वर्षमा देवदह मावि, भविष्य निर्माण मावि, महामाया भवानी मावि, र खड्ग माविले पनि ५० प्रतिशतको हाराहारीमा सफलता दर कायम गरेका छन् ।

    यो बीचमा प्रगति मावि, सिता मावि, सिक्टहन मावि, जनप्रिय मावि लगायतका विद्यालयको समग्र नतिजा ३३ प्रतिशतभन्दा न्यून देखिएको छ ।

    विद्यार्थी संख्या बढाउन कक्षा ११ मा विशेष भर्ना अभियान : प्रमुख खरेल 

    देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहको समग्र शिक्षाको नतिजा समीक्षा भएको र विद्यालयलाई विद्यार्थी संख्या र शैक्षिक गुणस्तर दुबै बृद्धिमा आवश्यक योजाना तय गर्न निर्देशन दिइएको बताए । 'हामीले विद्यार्थी संख्या बढाउन कक्षा ११ मा पनि विशेष भर्ना अभियान संचालन गर्ने भनेका छौं ।' उनले भने, 'विशेष गरी दक्षिण क्षेत्रका विद्यालयमा समस्या देखिएको छ । आगामी वर्ष यसमा सुधार हुने विश्वास लिएका छौं ।'    

    समग्रमा देवदहको शैक्षिक गुणस्तर सुधारोन्मुख छ । विद्यालय र सरोकारवालाहरूले अझै मेहनत गरेको अवस्थामा देवदह हरेक वर्ष एक हजार विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागी गराउन र त्यसको ७० प्रतिशतको हाराहारीमा नतिजा ल्याउन सकिन्छ भन्ने विगतको तथ्यांकले पुष्टि गरेको छ । भर्ना अभियान र सिकाई प्रक्रियालाई व्यवस्थित गर्न देवदह नगरपालिकाले पनि आवश्यक रणनीति बनाउनु पर्ने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।