हे ! पुष्पलाल, तिमीले देखाको थियौ सपना
गरिबको शासन, जनताको अपनत्वको चिना ।।
समाजवाद हुँदै साम्यवाद पुग्ने बाटो
तर आज ती बाटा छन् घुम्ती, छ दुष्कर्मको पाटो ।।
तिमीले लेखेका अक्षरहरू छन् भित्तामा टाँसिएका
तर तिनै अक्षरबाट नेता छन् महलमा ठाटिएका ।।
श्रमिकको नाममा खुट्टा माथि राखे सिंहासन
जनताको नाममा बेचिए गौरव र संविधान ।।
तिमी त हिँड्यौ पैताला फाटे पनि बाटो छोडेनौ
आज तिम्रै नाउँमा गाडी चढ्नेहरू भोगमा खोलेनौ ।।
शहिदको रगतबाट रङ्गिएको त्यो रातो झन्डा
आज सौदाबाजीको चिठ्ठा बन्यो, सत्ताको फन्दा ।।
भुइँचालो आयो तर कतै नीति हल्लिएन
भोकमरी र अनिकाल बढ्यो तर पाप घटिएन ।।
कम्युनिस्ट नाममा कति महलहरु ठडिए
जनता अझै झुपडीमै ऋणमाथि ऋणमा दबिए ।।
तिमीले चाहेका थियौ शिक्षामा समानता
स्वास्थ्यमा पहुँच, रोजगारीमा स्थायित्वता ।।
तर आज यहाँ बेथिति र भ्रष्टाचारकै ताण्डव छ
जनताको छातिमा दलीय स्वार्थकै घाउ छ ।।
तर हे अग्रज, तिमीलाई माया गर्छ यो गरिब
तिमीले रोपेको बीउ अझै मभित्र छ जीवित ।।
सम्झना आउँछ, जब सपना फेरि फूल्छ
गरिबको छातीमा क्रान्तिको आगो झनै बल्छ ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology