भैरहवा । नेकपा (एमाले) काे तर्फबाट निर्वाचित पूर्व सांसद धनपति उपाध्यायका छोरा पार्थिवेन्द्र उपाध्याय रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने दौडमा छन् । एमाले पृष्ठभूमिको परिवारमा हुर्किएका उपाध्यायको बिहिबार रास्वपाले सार्वजनिक गरेको ९ सदस्यीय सम्भावित उम्मेदवार सूचीमा दोस्रो नम्बरमा नाम छ ।
सिद्धार्थनगर-७ बासिन्दा उपाध्यायकी श्रीमती उमा अधिकारी सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित उपप्रमुख हुन् भने आमा पुष्पान्जली उपाध्याय पनि एमाले नेतृ हुन् । भदौ १२ गते हुने प्रारम्भिक मतदानबाट निर्वाचित भए उनी रास्वपाको आधिकारीक उमेद्वार हुनेछन् । रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख रहेका उनले उमेद्वार बन्न केही दिन अघि मात्रै पदबाट राजिनामा दिएका थिए ।
सेतोमसीसंग कुरा गर्दै उनले आफ्नो सम्भावना बलियो रहेको बताए । ९ जनाबाट तपाईं उम्मेदरवार छनौट हुने सम्भावना कति छ र टिकट पाएको अवस्थामा निर्वाचन जित्ने सम्भावना कति छ भन्ने प्रश्नमा उपाध्यायले आफु २०७४ सालमा पनि विवेकशिल साझा पार्टीबाट उम्मेदवार रहेको र अहिले सम्भावना बलियो देखिएको बताए ।
‘बुवाले २०५१ सालमा रुपन्देहीबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भयो तर लामो समय उहाले काम गर्न पाउनु भएन, उहाँको २०५३ सालमा असमायिक निधन भयो ।’ उनले भने, ‘बुवाले देखेका सपना पुरा गर्न पुराना राजनैतिक दलबाट सम्भव नहुने देखेपछि मैले रास्वपा रोजेको हुँ ।’
'यहाँको सबै परिवार नै एमाले राजनीतिमा सक्रिय हुनुहुन्छ । तपाइँ रास्वपाबाट निर्वाचन लड्ने तयारीमा लाग्नुभएको छ । यसले तपाईंलाई परिवारबाटै असहयोग हुन्छ भन्ने लाग्दैन' भन्ने प्रश्नमा उपाध्यायले त्यो ठूलो विषय नभएको बताए । 'आफ्नो-आफ्नो राजनीतिक भिजन हो । उहाँहरु अर्को दलमा आस्थावान हुनुहोला, मेरो भिजन फरक छ ।' उनले भने, 'राजनीति गर्ने मान्छेको समाज नै परिवार हो, म २०७४ सालमा पनि निर्वाचन लडेको हुँ । त्यो बेला पनि म मेरो भिजन अनुसार अघि बढें, अहिलेपनि सोही अनुसार बढ्छु ।'
कानूनमा स्नातक र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उपाध्यायले नर्वेबाट अंग्रेजी साहित्यमा एमफिल समेत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology