माधव ज्ञवाली, गुल्मी । नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था रुरुक्षेत्र गाउँपालिका-५ रानिबास गुल्मीले आफ्नो २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न गरेको छ। संस्थाका संचालन समिति अध्यक्ष तोयनारायण ज्ञवाली सभाध्यक्ष रहेको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष तोयनारायण ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा नियमित दैनिक बचत कर्ता र लगानिबाट सफल ब्यवसायी बन्न सफल शेयर सदस्यहरुलाई सम्मान गरिएको छ। नियमित दैनिक बचत कर्ता शम्भु प्रसाद पौडेल र सफल ब्यवसायी चन्द्र प्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ।
यता वि.स २०७७ र ०७८ सालको प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने ७ जना शेयर सदस्यका छोराछोरीलाई सम्मान संस्थाले गरेको छ भने ७५ बर्ष नाघेका जेष्ठ शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको छ।सम्मानित हुनेमा ८१ बर्षिया ज्ञान बहादुर कुँवर र ७५ बर्षिया ढुण्नीराज पाण्डेय रहेका छन।गत बर्ष कोरोना कहरका कारण सहकारीले वार्षिक साधारण सभा गरेको थिएन।
वि.स २०७६ पौष २७ देखि वि.स २०७८ आश्विन ३ सम्म संस्थाले विभिन्न शिर्षकमा ५ जना शेयर सदस्यहरुलाई राहत उपलब्ध गराएको छ।
शनिबार सम्पन्न कार्यक्रममा संस्थाको नयाँ बचत नीति पारित गरिएको छ। अब नियमित वचन गर्नेले एक पटकमा न्युनतम रु.५०० र बढिमा रु.२ हजार बचत गर्न पाउनेछन् भने वार्षिक ब्याजदर ८% बाट घटेर ७% कायम हुने भएको छ। सेयर सदस्य फिर्ता भएपछि मात्रै सो रकम पनि फिर्ता हुनेछ।शेयर सदस्यका सन्ततिको हकमा बाल बचत अन्तर्गत रु. ५०० देखि रु.२ हजारसम्म बचत गर्न सकिनेछ । यसरी बचत गरिएको रकम ३ बर्षपछि मात्र फिर्ता गर्न पाइने नीति बनाइएको छ।
यता ऋण लगानी नीति अन्तर्गत कसैले आकस्मिक ऋण लिनु परेमा अधिकतम रु.५० हजार रुपैयाँ सम्म लिन पाउने ब्यवस्था गरिएको छ।दैविक विपत्ति दुर्घटना, परिवारमा मृत्यु लगायत आकस्मिक अवस्थामा सो ऋण सेयर सदस्यले पाउनेछन् । त्यस्तै उत्पादनमुलक तथा आयमुलक (कृषि ,तरकारी खेती,गाई,भैंसी पालन, पोल्टीफर्म, बाख्रा पालन आदि) का लागि अधिकतम रु.३ लाख सम्म ऋण उपलब्ध गराइने नीति पनि लागू हुनेभएको छ।यसमा ब्याजदर भने ११% लागू हुनेछ भने अन्तिम भुक्तानीको लागि १ बर्ष तोकिएको छ।
संस्थाका कम्तीमा ५ जना शेयर सदस्यहरूको समुहले आफ्नो काम प्रपोजलसहित आएमा उत्पादनमुलक ,आयमुलक कार्यमा संचालन समितिको निर्णय अनुसार ऋण पाउने नीति पनि पारित भएको छ।यसमा लाग्ने ब्याजदर समितिले तोक्नेछ।
सहकारीले अब आफ्नो कार्यक्षेत्रलाई फराकिलो गराउने भएको छ। बम्घा,बलेटक्सार,थानापति र दिगाम गाविस मा सिमित रहेको कार्यक्षेत्र अबदेखि रुरुक्षेत्र गाउँपालिका का सबै वडा र छत्रकोट गाउँपालिकाको वडा न.४ सम्म बिस्तार भएको छ। कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९ को रु. २६ करोड ३२ लाख ०१ हजार १ सय ३३ बराबरको आय ब्यय विवरण प्रस्तुत गरिएको थियो।
सहकारीले वि.स २०७६ पौष ०१ देखि २०७८ मंसिर १८ सम्म देहावसान भएका १४ जना शेयर सदस्यहरुको परिवारलाई सहकारीको कोषबाट रु.१५ हजारको दरले उपलब्ध गराएको छ।
हालसम्म यस संस्थामा आवद्ध शेयर सदस्यहरुको संख्या १८०८ जना पुगेको छ,जसमा महिला शेयर संख्या ९९० र पुरुष शेयर संख्या ८१८ रहेको छ।
झण्डै २ हजार नजिक शेयर सदस्य रहेको यस सहकारी संस्था अहिले सबैको चासोको केन्द्र बनेको छ। अहिले यस् सहकारी संस्थाको चर्चा देश भरिनै छ । त्यो चर्चा केही नभएर यस सस्थामा भएको अनियमितताको हो। संस्थाका पुर्व व्यवस्थापक द्रोणाचार्य ज्ञवालीले डेढ करोड हिनामिना गरेका छन् ।
हिनामिना गरेको आरोपमा सञ्चालक समितिले उनलाई गत माघमा निलम्बन गरिसकेको छ। रुरु क्षेत्र गाउँपालिका–५ मा सञ्चालित सहकारीमा हालसम्म १८ सय ८ जना सेयर सदस्य छन् ।
वि.स २०७७ माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई पदमुक्त गरेको थियो।संस्थाले आर्थिक वर्ष ०७६/७७ बाट सम्पूर्ण कारोबार सफ्टवेयरबाट सुरु गरेको छ । अघिल्ला वर्षहरूका स्रेस्ताहरू पनि सफ्टवेयरमा राख्ने क्रममा रकम र स्रेस्ताहरू नमिलेपछि अनियमितता बाहिरिएको थियो ।
अनियमितताको शंका लागेपछि संस्थाका उपाध्यक्ष नारायण पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आर्थिक वर्ष ०६३/६४ देखि ०७५/७६ सम्मका सबै स्रेस्ताहरूको पुनः रुजु गरेको थियो । आ.व.०७५/७६ हिनामिना ठहर रकम रु. १ करोड ५६ लाख ७० हजार ३ सय १६ रुपैयाँ भएकोमा आ.व. ०७६/०७७ मा सो हिनामिना रकम म.ले.प. प्रतिवेदन अनुसार रु. १ करोड ७४ लाख ५३ हजार १ सय ८५ भएको बताइएको छ।
आफुले हिनामिना गरेको स्वीकार गरेका पुर्व ब्यवस्थापक ज्ञवालीले संस्थाको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए र उनलाई रकम फिर्ता गर्नको लागि समय दिइएको थियो।
संचालक समिति,लेखा समिति र विबिध उप समितिहरुले निरन्तर प्रयास गरि रहँदासम्म पनि पटक पटक गरि संस्थामा केही रहम फिर्ता त भएको छ तर संतोषजनक रुपमा फिर्ता लिन नसकिएको संचालक समिती अध्यक्ष तोयनारायण ज्ञवालीले बताए। हिनामिना भएको रकम असुलिका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा निवेदन पेश गरिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीबाट निवेदन अनुसारको कारबाहीको लागि सहकारी विभाग नया बानेश्वर काठमाडौमा पठाएको जानकारी संस्थालाई आएको उनले बताए। तर उक्त विभागबाट हालसम्म कुनै पनि प्रतिक्रिया भने आएको छैन।
कुनै प्रतिक्रिया नआएपछि पुन संचालन समितिका पदाधिकारी ,वर्तमान नि.ब्यवस्थापक समेत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गई अनौपचारिक रुपले टिपोट पेश गरि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताउँदै आवश्यक सहयोग गर्ने आश्वासन प्राप्त गरेको उनले जानकारी दिए। आर्थिक बर्ष ०७७/०७८ असार मशान्त सम्म ज्ञवालीले रु. ४९ लाख ७७ हजार मात्र फिर्ता दिएका छन् भने रु. १ करोड २४ लाख ७६ हजार १ सय ८५ रुपैयाँ फिर्ता दिन बाकी छ।
जङ्गिए गाउँपालिका अध्यक्ष...
२१ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं गाउँपालिका अध्यक्षले सहकारीको संचालन समिति, लेखा समिती र अनुगमन समिति माथी आक्रोश पोखेका छन् । लेखा समितिले समयमा नहेर्नाले यति ठुलो क्षति पुगेको भन्दै उनले आक्रोश पोक्जेका हुन् । "अनुगमन समिती,लेखा समिती,संचालन समिती पद,प्रतिष्ठा पाउनको लागि मात्र हो? आफ्नो जिम्मेवारी समयमा बहन गर्नुपर्ने हैन?" उनले प्रश्न गरे। उनले शेयर सदस्यहरुको पनि केहि हदसम्म दोष रहेको बताएका छन् । आफुले राखेको बचतको बारे बेला बेला सोधपुछ गर्नुपर्नेमा त्यसो नगर्नु गल्ती भएको उनले बताए। भन्छन् " अपराधीलाई कुनै छुट हुँदैन,विभिन्न विधि अपनाएर छाला काढेरै भएपनी हिनामिना रकम फिर्ता ल्याउन र कारबाही गर्न गाउंपालिकाले सक्दो सहयोग गर्नेछ। " संस्थाको कार्यक्षेत्र दुईवटा गाउँपालिकामा भएकोले यसमा प्रदेशको हात हुने भएकोले गाउँपालिकाले हस्तक्षेप गर्न नमिल्ने उनले बताए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष ,संस्थापक सदस्य कृष्णप्रसाद ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका सहकारी शाखा प्रमुख दामोदर ज्ञवाली लगायतले मन्तव्य राखेका थिए। सबैले सस्थामा भएको आर्थिक अनियमितता प्रती असन्तुष्टि ब्यक्त गर्दै सहकारीलाई नकारात्मक बाट सकारात्मक दिशातिर लैजानुपर्ने बताए।

संचालन समितिको समयावधि सकिएपनि हिनामिना भएको रकम अझै असुल भै नसकेकोले यहि समितीलाई नै पुनःजिम्मेवारी दिने निर्णय पनि आजको आजको अधिवेशनबाट सर्वसम्मत भएको छ। अब पुरानै संचालन समितिले आफ्नो कार्यभार समाल्नुपर्ने छ । समितिलाई हिनामिना भएको बाकी रकम फिर्ता ल्याउने चुनौती पनि उत्तिकै रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology