काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताएका छन् ।
विश्व मानवतावादी दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘नेपाल मानवतावादी सम्मेलन-२०२५’ को सम्बोधनमा गृहमन्त्री लेखकले विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवहरुको आदानप्रदान र कार्यान्वयनयोग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताएका हुन् ।
‘विश्वव्यापी ऐक्यबद्धतालाई सबल र स्थानीय समुदायलाई बलियो’ भन्ने नारासहित आयोजित सम्मेलनमा उनले जटिल भौगोलिक विविधताका कारण पनि नेपालमा प्राकृतिक प्रकोप र मानवीय संकटहरू दोहोरिरहेको बताए ।
भूकम्प, बाढी, पहिरो, खडेरी, डढेलोजस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ्दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको उनको भनाइ छ ।
विपद् तथा मानवीय संकटहरुमा स्थानीय सरकार, समुदाय, स्वयंसेवी संस्था र व्यक्तिहरु पहिलो उद्धारकर्ता हुने गरेको गृहमन्त्री लेखकले बताए । 'हामीले यो कुरा दश वर्षअघिको गोरखा भूकम्पपछिको खोज तथा उद्धार, राहत तथा सुरुवाती पुनर्स्थापनामा पनि देख्यौं। विपद् तथा संकटका समयमा मानवीय सहयोगको क्रम निरन्तर मात्रै छैन, त्यसमा बढोत्तरी भएको छ।' उनले भने, नेपाल मानवीय सहयोगको क्षेत्रमा अग्रणी छ । विपद्को समयमा नेपालीहरुमा सहयोगको भावना अझ बढेको देख्न सकिन्छ ।'
नेपालको संविधानले स्थानीय तहलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको गृहमन्त्री लेखकले बताए । उनले भने- ‘स्थानीय तहलाई सबल बनाउने कार्यका लागि पालिकास्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र, हरेक पालिकामा गोदामघरको व्यवस्था, पालिकामा बस्ने स्वयंसेवकहरुको गठन तथा तालिम, स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्थालगायतको व्यवस्था गरिएको छ । सरकारले आपतकालीन तयारी, जोखिम न्यूनीकरण र पुनर्निर्माणमा स्थानीय नेतृत्वलाई प्राथमिकतामा पनि राखेको छ ।’
सम्मेलनले स्थानीय नेतृत्वलाई मजबुत बनाउने र समान साझेदारी बढाउने विषमा पर्याप्त छलफल गरी एउटा निश्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology