हिन्दुहरुको सांस्कृतिक इतिहासमा दशैँ पर्वको विशेष महत्व रहेको छ । विजयादशमीको रूपमा मनाइने यो पर्व धार्मिक, सामाजिक र पारिवारिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि पूर्णिमासम्म धुमधामका साथ मनाइने दशैँलाई देवी दुर्गाको विजयको प्रतीक मानिन्छ । यो पर्वमा नयाँ लुगा लगाउने, मान्यजनहरुबाट टिका–जमरा थाप्ने, आशीर्वाद लिने परम्परा रहँदै आएको छ । कामको सिलसिलामा टाढा भएकाहरुपनि परिवारसँग एकत्रित हुने र विशेष खानपानको व्यवस्थापन गर्ने यो पर्वका विशेषता हुन् । यो वर्षको दशैँको टीका असोजको १६ गते परेको छ ।
मासुका पारखीहरुका लागि दशैँको मुख्य आकर्षण भनेकै मासुको परिकार हो । अष्टमीको दिनमा देवीलाई बली दिएर प्रसादको रूपमा मासु ग्रहण गर्ने चलन प्राचीन कालदेखि चल्दै आएको हो । दशैँमा मासु खाने प्रचलन धर्म–संस्कृतिसँग मात्र नभई मानिसको स्वाद, चाहना र जीवनशैलीसँग पनि जोडिएको छ । तर मासु खाने यस परम्पराको स्वास्थ्यगत असरबारे सोच्नुपर्ने आवश्यकता उत्तिकै हुन्छ ।
दशैँ देवी दुर्गालाई प्रसन्न पार्ने पर्व हो । पुराणमा उल्लेख भएअनुसार दुर्गाले महिषासुर नामक दैत्यलाई परास्त गरेको सम्झनामा यस पर्वको थालनी भएको मानिन्छ । त्यसैको प्रतीकस्वरूप दशैँमा पञ्चबली (बोका, कुखुरा, हाँस, परेवा, राँगा आदिको) दिने परम्परा रहँदै आएको छ । यस बलीलाई देवताप्रति समर्पणका रूपमा लिईन्छ र बली दिइएको पशुको मासुलाई ‘प्रसाद’ मानेर घरपरिवार र पाहुनासँग बाँडेर खाने प्रचलन छ ।
वास्तवमा पञ्चबली भनेको हामी भित्र भएको खराब आचरण जस्तै काम, क्रोध, लोभ, मोह, अहङ्कारको बली हुनुपर्ने हो । तर परापूर्व कालदेखि चलिआएको भन्दै पशु बलि दिने प्रचलन हामीमाझ आजसम्म पनि कायम छ । दशैँमा मासु खाने चलन यसरी धार्मिक आस्था, पारिवारिक मिलन र सामूहिक भोजको संस्कृतिसङ्ग जोडिएको छ ।
वास्तवमा पञ्चबली भनेको हामी भित्र भएको खराब आचरण जस्तै काम, क्रोध, लोभ, मोह, अहङ्कारको बली हुनुपर्ने हो । तर परापूर्व कालदेखि चलिआएको भन्दै पशु बलि दिने प्रचलन हामीमाझ आजसम्म पनि कायम छ । दशैँमा मासु खाने चलन यसरी धार्मिक आस्था, पारिवारिक मिलन र सामूहिक भोजको संस्कृतिसङ्ग जोडिएको छ ।
के छ त मासु खादा हुने फाइदा ?
१) मासु प्रोटिनको उच्च स्रोत हो । मासु खादा मांसपेशी, छाला, रगत र कोष निर्माणमा सहयोग पुग्ने हुन्छ ।
२) खेलाडी, किशोरावस्था, गर्भवती महिला र श्रमिक वर्गका लागि मासु धेरै उपयोगी मानिन्छ ।
३) मासुमा भिटामिन पाइन्छ, जुन स्नायु प्रणाली र रक्त उत्पादनका लागि अपरिहार्य छ । रातो मासुमा पाइने फलामले रक्तअल्पता कम गर्छ । त्यस्तै जिंक, फस्फोरस र सेलेनियम जस्ता खनिजले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् ।
४) मासुमा बोसो र प्रोटिन पर्याप्त मात्रामा हुने भएकाले यसले शरीरलाई लामो समयसम्म ऊर्जा दिन्छ । शारीरिक श्रम गर्ने वर्गका लागि यो विशेष उपयोगी हुन्छ । बिरामीहरुका लागि पनि खसी बोकाको टाउको, खुट्टा र हड्डीको सुप अति लाभदायक मानिन्छ ।
५) दशैँमा परिवारसँगै बसेर मासु खाने चलनले समूहगत खुसी, मेलमिलाप र मानसिक सन्तोष प्राप्त हुन्छ ।
मासु खाँदा हुने बेफाइदा पनि हुन्छन् त ?
१) रातो मासुमा स्याचुरेटेड फ्याट र कोलेस्ट्रोल धेरै हुन्छ । यसले दीर्घकालीन रूपमा हृदय रोग, उच्च रक्तचाप र मधुमेह बढाउने खतरा हुन्छ ।
२) दशैँमा एकैपटक धेरै मासु खाँदा अपच, पेट फुल्ने, ग्यास्ट्रिक र कब्जियत लगाएत पाचनमा समस्या आउन सक्छ ।
३) जहाँ पायो त्यहीँ फोहोर ठाउँमा काटिएको वा राम्रो सङ्ग नपाकेको मासु खाँदा टेपवर्म जुका र ब्याक्टेरियाको सङ्क्रमण वा जोखिम हुन सक्छ ।
४) मधुमेह, उच्च रक्तचाप, कलेजो वा मिर्गौला लगाएतका विशेष समस्या भएका बिरामीलाई मासु बढी खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।
५) स्वस्थ व्यक्तिले दिनको ५० ग्रामसम्म मासु खाँदा राम्रै मानिन्छ । तर धेरै मात्रामा खाँदा विभिन्न रोगको सङ्क्रमण हुन सक्छ ।
दशैँमा मासु खाँदा निम्न कुरामा ध्यान दिनु जरुरी छ ;
१) सरकारी स्वीकृत वधशाला वा सफा ठाउँमा काटिएको मासु मात्र प्रयोग गर्ने ।
२) राम्रो सङ्ग पाकेको मासु खाने ।
३) तेल मसला सकेसम्म कम प्रयोग गर्ने, फ्राइ गरेर, पोलेर भन्दा उमालेर, वा झोल बनाएर मासु खानु स्वास्थ्यकर हुन्छ ।
४) विशेष किसिमका रोग भएका व्यक्तिहरुले चिकित्सकको सल्लाह अनुसार मात्र मासु खानुपर्छ ।
५) पकाएर धेरै दिनसम्म फ्रीजमा राखेको मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यसबारे सचेत हुनुपर्दछ ।
मासुको विकल्प :
मासु खाने वा खान कम गर्न चाहने व्यक्तिका लागि विकल्प पनि प्रशस्त छन् । त्यसको लागि सबैभन्दा पहिला हामिले हाम्रो धारणा र मानसिकतालाई नियन्त्रण गर्न सक्नुपर्छ । मासुको विकल्पमा अन्य खाद्य पदार्थ खाँदा पनि त्यसको विकल्प हुन सक्छ भन्ने भावना विकास गर्न सकियो भने प्रोटिनको स्रोत मानिने मासुका विकल्पहरु धेरै हुन सक्छन् । यहाँ केहि विकल्पहरु बारे सुझाईएको छ ।
१) दाल, चना, सोयाबिन, भटमास, राजमा प्रोटिनका उत्तम स्रोत हुन् ।
२) दूध, दही र पनीरबाट क्याल्सियम, प्रोटिन र चिल्लो पदार्थ प्रशस्त पाइन्छ ।
३) मौसम अनुसारको तरकारी र सागपातबाट आवश्यक भिटामिन र खनिज प्राप्त गर्न सकिन्छ ।
४) मस्यौरा, तामा, गुन्द्रुकका विभिन्न परिकारले मासुको आवश्यकता बिर्साउँछन् ।
५) आजभोली बजारमा पाइने भेज मिटको स्वादिलो परिकारले त झन मासु सम्झिनै मन नलाग्ने स्वाद दिन्छ ।
परापूर्व कालदेखि मासु खाने परम्परा धार्मिक र सांस्कृतिक दृष्टिकोणसँग जोडिएको छ । तर स्वास्थ्य विज्ञानका आधारमा मासु खानुका फाइदा र बेफाइदा दुबै रहेका छन् । प्रोटिन, भिटामिन द्यज्ञद्द, फलाम र विभिन्न परिकारका स्वादमा रमाउन सकिने यसका फाइदा हुन् भने कोलेस्ट्रोल, पाचन समस्या, संक्रमण र दीर्घकालीन रोगको जोखिम हुने भएकोले मासु खानुका बेफाइदा हुन् । पहिले पहिले विशेष खुसीको अवसरमा कुहिनोबाट धारा चुहाउँदै मासु खाने हो भन्ने प्रचलन थियो । त्यो बेला वास्तवमै थोरै मासुमा धेरै पानी र तेल मसला कम राखेर कुहिनोबाट धारा चुहाउँदै खाने गरिन्थ्यो । वास्तवमा त्यो स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो प्रचलन थियो ।
भगवान र देवीलाई खुसी पार्ने बहानामा ढुङ्गो रातो, पेट तातो गर्ने प्रथा परिवर्तन गर्न जरुरी छ । निर्दोष प्राणीको बलि चढाएर देवी खुसी हुने होइनन् । पवित्र मनले कामना गरे मात्रै पनि भगवान अवश्य खुसी हुनेछन् । कुभिण्डोलाई प्रतीक मानेर काट्ने नरिवल फोरेर पानी चढाउने बलि प्रथाका विकल्प बन्न सक्छन् ।
अहिले बिरामी भए मात्र मासुको झोल (सुप) खाने प्रचलन छ । तर सधैँभरी सादा खाने र झोलिलो मासु खाने हो भने त्यसले असर गर्दैन र पोषिलो हुन्छ । बिडम्बना के छ भने ४ इन्चको जिब्रोलाई माया गरेर सिङ्गो ६ फुटको शरीरलाई रोगी बनाउने गरी तेल र मसलाको बीचमा मासुको चोक्टा खोजेर खाने, पोलेर डढेको खाने, तारेर खाने गर्दा मान्छेले मासु खानुभन्दा मासुले मान्छे खाने स्थिति सृजना भएको छ ।
यसैले दशैँमा मासु खाँदा यसको मात्रा, समय र तरिका अपनाउन जरुरी छ । दशैंको वास्तविक मर्म भनेको परिवारसँग मिलेर खुसी बाँड्नु, आशीर्वाद लिनु र सामाजिक एकता कायम गर्नु हो । जुन कुरा मासु खाए पनि, नखाए पनि गर्न सकिन्छ । हाम्रो सँस्कार, सँस्कृति र स्वास्थ्यलाई बचाउँदै हरेक चाडपर्व र हाम्रा संस्कृतिहरु मनाउन जरुरी छ ।
अन्ततः भगवान र देवीलाई खुसी पार्ने बहानामा ढुङ्गो रातो, पेट तातो गर्ने प्रथा परिवर्तन गर्न जरुरी छ । निर्दोष प्राणीको बलि चढाएर देवी खुसी हुने होइनन् । पवित्र मनले कामना गरे मात्रै पनि भगवान अवश्य खुसी हुनेछन् । कुभिण्डोलाई प्रतीक मानेर काट्ने नरिवल फोरेर पानी चढाउने बलि प्रथाका विकल्प बन्न सक्छन् । मासु मोह छोडेर दशैँको मूल मर्मलाई आत्मसात् गरी हर्रोल्लास साथ खुसी साटासाट गर्दै दशैंको महत्व बचाइरख्न जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology