काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
आयोगले १६ बर्ष उमेर पुरा भएर नागरिकताको प्रमाण पत्र लिएका नपाली नागरिकले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुमा दर्ता गर्न सकिने जानकारी दिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यादेश रहेको छ ।
निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश ल्याएर सो व्यवस्था संशोधन गरेर जेनजी युवाहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology