काठमाडौँ । जेनजीहरुलाई उक्साएर भदौ २४ गते विध्वंस भएको भन्दै काठमाडौं महानगरका मेयर बालेन साहसहित दर्जनौं विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।
शुक्रबार अनुप उप्रेती र राजन चेम्जोङ नामक व्यक्तिले जिल्ला प्रहरी परिसर काठमाडौंमा बालेन र सुदनसहित विभिन्न सोसल मिडिया इन्फ्लुइन्सर, पत्रकार र अभियन्ताहरुविरुद्ध जाहेरी दिएका हुन् ।
उनीहरुले पूर्व सांसद सुमना श्रेष्ठ, रास्वपा नेतृ ज्वाला संग्रौला, जेनजी अभियन्ताहरू मिराज ढुंगाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, केपी खनाल, तनुजा पाण्डे, युजन राज भण्डारी, रामकुमार खड्का, कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, रिमा विश्वकर्मा, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार, युट्युबर भोजराज थापा, टिकटकर मनोज केसीलगायतविरुद्ध जाहेरी दिइएको छ ।
जाहेरीमा प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडियो प्रमाणका रूपमा पेश गरेका छन् ।
जाहेरीमा उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आतङ्कवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विस्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा कसुरमा अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।
बालेन र सुदनविरुद्ध यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि यस्तै जाहेरी दिएको थियो । प्रहरीले त्यो जाहेरी अहिलेसम्म दर्ता भने गरेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology