चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेरेसन जेड आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको रूपमा व्याख्या गर्दै युवाहरूको भ्रष्टाचारविरोधी स्वर माओवादीको आन्दोलनसँग मेल खाने बताएका छन् ।
चितवनको पार्टी कार्यालयमा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा उनले आन्दोलनका क्रममा देखिएको सरकारी लापरवाहीलाई घटनाको मुख्य कारण बताए । उनले भने, “शान्तिपूर्ण आन्दोलनमा कलेज ड्रेसका युवामाथि गोली चलाउनु अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद भयो ।”
प्रचण्डले २३ गतेकै रात आकस्मिक बैठक बसी मृतकलाई सहिद घोषणा गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको बताए ।
आगामी निर्वाचन अब अपरिहार्य भएको बताउँदै उनले सबै दलहरू त्यसतर्फ उन्मुख भएको स्पष्ट गरे । वाम एकता छिट्टै निष्कर्षमा पुग्ने भन्दै उनले पहिलो चरणमा समाजवादी मोर्चाभित्र एकता घोषणा हुने जानकारी दिए ।
उनले भने, “माओवादी केन्द्र अब मुलधारको पार्टी बन्छ, र आगामी निर्वाचनमा अग्रस्थानमा आउन सक्ने सम्भावना विश्लेषकहरूले देखाएका छन् ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology