काठमाडौँ । पेरुका नयाँ राष्ट्रपति जोसे जार्रीले राजीनामा दिन अस्वीकार गरेका छन्, यद्यपि उनको विरुद्धमा भइरहेको जेन-जेड युवाहरूको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनमा एक जनाको मृत्यु र सयभन्दा बढी घाइते भएका छन् ।
अधिकारीका अनुसार घाइतेमध्ये ८० प्रहरी र १० पत्रकार छन् । प्रदर्शनका क्रममा ३२ वर्षीय हिप-हप गायक एडुआर्डो रुइजको टाउकोमा गोली लागेर मृत्यु भएको हो। सामाजिक सञ्जालमा उनका मृत्युका भिडियोहरू भाइरल भएका छन् ।
लगभग एक महिना अघि सुरु भएको आन्दोलन युवाहरूका लागि रोजगारी र पेन्सन सुधारको मागबाट सुरु भए पनि अहिले भ्रष्टाचार र सरकारी असफलताविरुद्धको जनआन्दोलनमा परिणत भएको छ ।
जोसे जार्रीले गत अक्टोबर १० मा अपदस्थ राष्ट्रपति दिना बोलुआर्टेको स्थान लिएका थिए । ३८ वर्षीय जार्री पहिले संसद सभामुख थिए । उनका प्रधानमन्त्री अर्नेस्टो अल्भारेजले जेन-जेड आन्दोलनलाई “अराजक समूह” भनेका थिए ।
विज्ञहरूका अनुसार, पेरुमा निरन्तर राजनीतिक अस्थिरता, भ्रष्टाचार र अपराधका कारण जनताको आक्रोश चरममा पुगेको छ । प्रदर्शनकारीहरूले ‘विरोध गर्नु अधिकार हो, हत्या अपराध हो’ भन्ने नारासहित आन्दोलन जारी राखेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology