म खासगरीकन चाडबाडको बेलामा गाउँ जान रुचाउँछु । गाउँ घरका उकाली–ओरालीले मन, बचन र कर्मलाई पवित्र बनाउनको लागि प्रेरित गर्दछ । गाउँको खानपान, रहन-सहनले स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । गाउँको उकालो र ओरालो, अर्गानिक र प्राकृतिक हिँडाइले शरीरलाई चाहिने आवश्यक तत्व प्रदान गर्दछ। गाउँ घरको विपादी रहित, रैथाने खाना, हावापानी स्वच्छ, मरोन्मय वातावरणले मनै हरर बनाउँछ । वास्तवमा गाउँमा आत्मियता छ। प्रेम, भातृत्व छ। बाँडेर खाने संस्कृति छ ।
शहरको कोलाहलयुक्त वातावरणबाट मुक्ति पाउनको लागि पनि गाउँ जाने चलन छ । दशै–तिहारमा गाउँ पूरै भरिएको हुन्छ । आजकलको मान्छेले कसौटीमा राखेर दाउरामा पकाएको खाना मन पराउँछ । त्यसैगरी जडिबुटी खाएको खसी–बोका, कुखुराको मासु लोकल हो भन्दै खान्छ । जडिबुटी खाएका चरेका खसी–बोकाको मासुमा शरीरलाई चाहिने तत्व सबै पाइन्छ भनिन्छ । गाउँमा पाइने गाई–भैसीको शुद्ध घिउ, मह, दूधले पनि हामीलाई निकै लोभ्याएको हुन्छ र म गाउँजान मन पराउँछु । गाउँघर तिरको पानी पनि चोपिलो हुन्छ । अझै गाउँघरमा ढोरपाटन लगायत हिमाली भेगबाट ल्याएको आलु भेटियो भने त झन् कति स्वादिलो, कति स्वादिलो ।
मैले प्रविणता पत्रको तहसम्म गाउँमा घास, दाउरा गरेर दु:ख-सुख गरेर पढेको हो । पढ्ने समयमा पढाईलाई भन्दा पनि कामलाई पहिलो प्राथमिकता दिनु पर्ने बाध्यता थियो । काम सकेर मात्र समय निकालेर पढ्ने पाइने थियो । त्यतिबेला गाउँमा भात पकाउने अहिलेको जस्तो ग्याँस थिएन । दाउराबाट पकाउनु पर्ने थियो । दाउरा पनि पाइँदैन थियो । किनकी गाउँको जनसंख्या धेरै थियो । बुट्यान कम थियो । जंगलबाट दाउरा ल्याउन निकै धौधौ थियो । स्कूलबाट फर्कदै गर्दा दाउरा खोज्दै आउनु पर्ने बाध्यता थियो ।
गाउँमा नुहाउनको लागि साबुन पाइदैन थियो । गिठ्ठाले नुहाउनु पर्दथ्यो । कपडा धुने साबुन पाइदैन थियो । आगो बालेर खरानीको बान थापेर सिरक, खोल, कम्मल लगायतका ठूला कपडाहरु धुने गरिन्थ्यो । वनबाट पात सोरेर ल्याएर गाईभैसीको गोठमा राखेर न्यानो पारिन्थ्यो । पछि त्यो मलको रूपमा प्रयोग हुन्थ्यो । पर्म लगाएर मल बोक्ने, बारी खन्ने, कोदो रोप्ने, कोदोधान गोड्ने गरिन्थ्यो । पर्म नै लगाएर धान रोप्ने गोरु ल्याउने गरिन्थ्यो ।
गाउँको जीवन नै मेहनती, दु:खी जीवन थियो । तर मानसिक रूपमा मानिस दु:खी थिएन । घरमा आगो बाल्नको लागि नजिकको घरबाट आगो ल्याएर बालिने गरिन्थ्यो । सरसापटी राम्रै चल्ने गर्दथ्यो ।
गाउँमा जन्मदिनको अवसरमा अहिलेको जस्तो चलन थिएन । हामीले सेल–रोटी बनाएर खाएर मनाउँथ्यौँ । हिउँको समयमा वनभात खानको लागि आधा ढेउवा, घिउ र एक मना चामल अनि आलु र तरकारी लिएर जाने गरिन्थ्यो । खेतमा गएर बनभात खाइन्थ्यो, जसलाई आजभोली पिकनिक भन्छन् । वनभात खान जाँदा घिउको पर्याप्त प्रयोग हुन्थ्यो । अहिले जस्तो रक्सी–वियर होइन ।
गाउँमा जन्मदिनको अवसरमा अहिलेको जस्तो चलन थिएन । हामीले सेल–रोटी बनाएर खाएर मनाउँथ्यौँ । हिउँको समयमा वनभात खानको लागि आधा ढेउवा, घिउ र एक मना चामल अनि आलु र तरकारी लिएर जाने गरिन्थ्यो । खेतमा गएर बनभात खाइन्थ्यो, जसलाई आजभोली पिकनिक भन्छन् । वनभात खान जाँदा घिउको पर्याप्त प्रयोग हुन्थ्यो । अहिले जस्तो रक्सी–वियर होइन । हिउँमा खर काट्ने समय थियो । सो काम पनि पर्म लगाएर सकाइन्थ्यो । घर छाउनको लागि शिपालु अभिभावक दाइ–भाइहरु आउनु हुन्थ्यो । सीप भएका उहाँहरुलाई निकै सम्मानका साथ हेरिन्थ्यो । उहाँहरुलाई सम्मानका साथ खानपीन गराइन्थ्यो ।
धान रोप्ने बेलादेखि धान भित्र्त्राउने बेलासम्म अर्मपर्म लगाएर सबै काम सकाइन्थ्यो । धान थन्काउने काम गर्दा निकै रमाइलो हुन्थ्यो । दाइ हालिन्थ्यो । गोरु दौडाइन्थ्यो । परालको टौवा लगाइन्थ्यो । धेरै खेत हुनेको धेरै धान हुन्थ्यो । दुई–तीन पटक दाइ हालिन्थ्यो । त्यसैगरी कोदो रोप्न, गोड्न, काट्न, थन्काउन पनि अर्म–पर्म गरिन्थ्यो ।
गहुँ, कोदो पिस्नको लागि घट्टामा जानु पर्दथ्यो । विहानी उठेर जानु पर्दथ्यो । घट्टले पिस्ने सयमा पूरै सजगताका साथ सुत्नु पर्दथ्यो । किनकी घट्टको घान सकिएपछि फेरि थप्नु पर्दथ्यो ।
टालाले बाँधेका बल खेलिन्थ्यो, जसलाई गोला खेल्न जाने भनिन्थ्यो । डण्डी–बियो खेल, जुन धान काटेको खेतका गरामा गाई चराउन जाने बेलामा खेलिन्थ्यो । यस्ता जीवन्त सिकाइलाई जोगाउन र हाम्रा बालबच्चालाई सिकाउन पनि हामीले गाउँ बनाउनु पर्दछ, गाउँ जानु पर्दछ ।
टालाले बाँधेका बल खेलिन्थ्यो, जसलाई गोला खेल्न जाने भनिन्थ्यो । डण्डी–बियो खेल, जुन धान काटेको खेतका गरामा गाई चराउन जाने बेलामा खेलिन्थ्यो । यस्ता जीवन्त सिकाइलाई जोगाउन र हाम्रा बालबच्चालाई सिकाउन पनि हामीले गाउँ बनाउनु पर्दछ, गाउँ जानु पर्दछ ।
निजामती सेवाको २२ वर्षको यात्रामा मलाई फेरी गाउँ नै प्यारो लाग्छ किनकी गाउँमा माया, प्रेम, आत्मीयता, निखारता, निरोगीता, स्वास्थ्य र सन्तुष्टि छ । तर म गाउँमा पूरै बस्दा जस्तो गाउँ आज अलिक छैन । बस्ती पूरै पातलो छ । खेतबारी पूरै बाझो छ । बाँदर लागेर खेती सबै खाइदिन्छन् । सबैले घर छोडिसके । सबै शहरीयाका नाममा गाउँमा छोडिसके । गाउँमा मान्छेको जनसंख्या कम भएको छ । वनजंगल बढेको छ । पहिले कुकुरले बाँदर लखेट्ने गर्दथे, अहिले बाँदरले कुकुर लखेट्छ भन्ने सुनिन्छ ।
मित्रहरु, त्यसैले अब गाउँ फर्कने बेला भयो है । किनकी गाउँमा बाटो पुगेको छ । तिमीले गाउँको पानीलाई बोटलिङ्ग गरेर, बाँडिङ्ग गरेर बेच पनि पैसा आउँछ। पूरै विश्वलाई अब गाउँ मन पर्न थालेको छ । गाउँमा खरले छाएको झुप्रोमा रमाउन खोजिरहेको छ । कोदो सिन्नु, गिठा, भ्याकुरको मूल्य बढी रहेको छ । कोदो सिन्नु, गिठा, भ्याकुरको गरिब–दुखीले मात्र खाने हो भन्ने गलत बुझाइ परिवर्तन भएर रैथाने खाना नै स्वास्थ्यको आधार हो भन्ने बुझेका छन् मान्छेहरूले । कोदो, फापर, मकैको आटा रोटी, जुन घट्टमा पिसेर आगोमा पकाएर खाने गरिन्थ्यो ।
गाउँमा मान्छेको जनसंख्या कम भएको छ । वनजंगल बढेको छ । पहिले कुकुरले बाँदर लखेट्ने गर्दथे, अहिले बाँदरले कुकुर लखेट्छ भन्ने सुनिन्छ ।
गाउँमा माटैमा खाने, माटोमा सुत्ने भएकाले होला, अहिले जस्तो पैसा तिरेर शरीरमा माटो दल्नु पर्ने अवस्था थिएन । अहिले पैसा तिरेर माटोमा हिँड्नु पर्ने छ । पैसा तिरेर माटो शरीरमा दल्नु पर्ने अवस्था छ । त्यसकारण गाउँलाई प्राथमिकता दिउँ ।
जिउँदा माछा खानेहरूले पोखरीमा पालेका माछा होइन, खोलामा खेलेका माछा खान सक्छन् । इन्जेक्सन लगाएका कुखुरा होइन, जडिबुटी खाएका कुखुरा खान पाउँछ । प्रेसरको औषधी खाएर होइन, पसिना चुहाएर प्रेसरको औषधी बन्न सक्छ । विदेश भन्दा पहिले तिम्रो गाउँ घुम—जति तिमी गाउँ घुम्छौ, त्यतिनै तिमी स्वस्थ हुन्छौ । विदेश घुम्ने टिकटको पैसाले मात्र पनि तिमीले गाउँ घुमेर सक्छौ ।
हामीगाउँ घुम्न थालेउ भने हाम्रो अहंकार पनि घट्छ । मैले देखेको छु कि दूध दुहेर पाल्टी समातेको फोटो खिच्न रहर छ भने अलिकति प्रयास गरौं तिमी हामी दूध दुहुन सक्छौ ।
गाउँको जीवनलाई पनि उद्यमशीलतासँग जोड्न सकिन्छ, जसको उदाहरण हो रिब्दिकोट गाउँपालिका वडा नं ३, खस्यौली, पाल्पामा रहेको सिर्जना फार्म । जहाँ पुराना, हाम्रा घर जस्तै मौलिक ढाँचाका घरमा एटेज बाथरूम सहित अमेरिकनहरुलाई स्वागत गरिरहेका छन् । सिर्जना फार्म एउटा पूर्ण गाउँ हो । जहाँ खेत–बारी, धान, कोदो, मकै, बाख्राभैसी, दूध, घिउ, मह, पनीर, कुखुरा पालेको काटेर खाएर पुरै रैथाने अवस्था छ ।
हामी आफूलाई रिभाइज गरौँ । हाम्रो अध्ययनलाई रिभाइज गरौँ । हाम्रो मानसिकतालाई हेरौँ । नीतिलाई पुनरावलोकन गरौँ । पहिले आफूबाट सुरु गरौँ । सरकार भनेको हामी सबै हो। गाउँमा पानी छ, बिजुली छ, बाटो छ । सबै पुगेको छ । केवल हाम्रो विचार नपुगेको हो । हाम्रो इच्छाशक्ति नभएर हो । त्यसकारण आफू र आफ्नो पिढीको भविष्य सुरक्षितका लागि पनि गाउँ फर्कनुपर्छ ।
हामीसंग भएको ज्ञान, धन, सम्पत्तिलाई अलि बुद्धि पुराएर व्यवस्थापन गरियो भने सर्वप्रथम हामीले प्रेसरको औषधी खानु पर्दैन । कुण्ठायुक्त जीवन बाँच्न पर्दैन । हामीले प्राप्त गरेको डिग्रीको पनि सही उपयोग हुन्छ । हामी उद्यमशील पनि बन्छौ । ज्ञानको पनि सही उपयोग हुन्छ । नीति निर्माताले पनि सोचौं हामी व्यक्ति बन्ने, धनी हुने तर देश नबन्ने, देश धनी नहुने किन ? हामीले लिएको डिग्री सैद्धान्तिक मात्र हो कि व्यवहारिक ? व्यवहारिक डिग्री हो भने गाउँ बन्नै पर्दछ । जबसम्म हामीले हाम्रो गाउँ बनाउँदैनौं, तबसम्म हाम्रो योग्यताको खासै महत्व नहुन सक्छ । माटो छुन मन नहुने डिग्रीले देश बन्दैन र साचो अर्थमा हामी पनि बन्दैनौं । गाउँको माटोमा पसिना चुहाउने हो भने मान्छेमा भरिएको इगो घट्न जान्छ । हाम्रो विज्ञता र अनुभवसँग गाउँलाई जोडौँ । एकपटक गाउँ फर्केर हेरौं त— त्यो खोला, खेतको हालत ? शहरको सुविधा गाउँमा लिएर पनि हामीले गाउँलाई बनाउन सक्छौ ।
हामी पश्चिमीकरणको दलदलमा भासिएर गाउँप्रति यति विध्न–विकर्ष पैदा भएको छ । हामीलाई स्वाद लोकल चाहिने, तर लोकल उत्पादन गर्न हामी हिच्किचाउँछौं । यस्तो पाराले हामीले र हाम्रा सन्तानले दु:ख पाउँछन् । त्यसकारण ग्रामीण अर्थतन्त्रलाई चलायवान बनाउनको लागि हामी सबैले गाउँको विकास र समृद्धिको लागि पहल गर्नुपर्ने आवश्यकता छ । हामीले रोजौं - विष खाने वा अमृत ? अमृतको लागि ग्रामिण अर्थतन्त्र बाच्नुपर्छ, चल्नुपर्छ र विकास हूनुपर्छ।
पर्वत जिल्लाबाट संविधान सभाका सदस्य रहेका विकास लम्साल एक उदाहरण हूनुहुन्छ । उहाँको घर फलेबास हो । उहाँको घर काठमाडौंमा भए पनि अधिकाँश समय गाउँमा बस्ने र गाउँका कृषि कर्ममा क्रियाशील देखिनु हुन्छ । उहाँ ज्ञानलाई कर्ममा रुपान्तरण गर्ने अभियानमा हुनुहुन्छ । यस्ता उदाहरण पनि हामीसँग अरू छन् ।
तसर्थ, हामी आफूलाई रिभाइज गरौँ । हाम्रो अध्ययनलाई रिभाइज गरौँ । हाम्रो मानसिकतालाई हेरौँ । नीतिलाई पुनरावलोकन गरौँ । पहिले आफूबाट सुरु गरौँ । सरकार भनेको हामी सबै हो। गाउँमा पानी छ, बिजुली छ, बाटो छ । सबै पुगेको छ । केवल हाम्रो विचार नपुगेको हो । हाम्रो इच्छाशक्ति नभएर हो । त्यसकारण आफू र आफ्नो पिढीको भविष्य सुरक्षितका लागि पनि गाउँ फर्कनुपर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology