काठमाण्डाै । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा, मकवानपुरले रहु र नैनी जातका माछाका ४० हजार भुरा नारायणी नदीमा छाडेको हो ।
जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आय-स्तर वृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताउनुभयो । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको थियो । यसपटक स्याङजाको काली नदी र कोशी नदीमा पनि माछाको भुरा छोड्ने तयारी भैरहेको यादवले जानकारी दिनुभयो । यसअघि मकवानपुरको सामारी नदीमा ३४ हजार माछाका भुरा छोडिएको थियो ।
खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ । नदी नालाको अध्ययन गरी कुन माछा संकटमा छ, त्यसका आधारमा भुरा छाडिँदै आएको केन्द्रले जनाएको छ । बोटे लगायत माछा मारेर जीवन निर्वाह गर्ने समुदायको आयस्तर विकास गर्न र पानीमा आश्रित गोहीसहित अन्य जीवका लागि पनि फाइदा पुग्ने मत्स्य प्रवर्द्धन केन्द्रका प्रमुख यादवले बताउनुभयो ।
नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको छ । देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology