काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।
विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दै उनीहरुको स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले अपील गरेका हुन् ।
ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा बिहिबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ ।
‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडेपनि उहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु, अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’
पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई सम्पर्कमा आउन अपील गर्दै उहाँहरुको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्ष यादवले बताएका छन् ।
मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकाहरुलाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ संचालन गर्ने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology