रमेश बहादुर सिंह, बझाङ । बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले घेरिएका छन । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका छन् । कोही एक अर्कालाई अँगालो हालेर रोइरहेका छन् । कोही ढोग–भेट गरिरहेका छन् ।
३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जनाको चलानी काटेका धनगढी जाने गाडीभित्र बसेका धेरैजसो यात्रु रोजगारीका खोजीमा भारत जानका लागि घरबाट हिँडेका हुन् । बाहिरको भिडमा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरू छन्, जो कोभिड महामारीको बेलामा समेत पापी पेट पाल्नकै लागि देश छोडेर कोभिडले आक्रान्त भएको मुलुकमा आफन्त पठाउँनु पर्दाको पिडाले अमिलिएका छन् ।
यसरी दिनका दिन युवाहरूले समूहमा नै गाउँ छाड्न थालेपछि गाउँमा पुरुषको सङ्ख्या घट्दै गएको छ । चार्डपर्व मानेर तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै रोकिएको छैन ।
‘मंसिरयता मात्र पाँच सयभन्दा धेरै यहाँबाट भारत गइसकेका छन् । कुनै–कुनै वडामा त एक जना पनि पुरुष भेटिँदैनन् । कसैको मृत्यु हुँदा लास उठाउने मान्छेसम्म गाउँमा छैनन्’, थलारा गाँउपालिका-९ का अध्यक्ष मोहनराज जैशीले भने, ‘२५–३० जना त परिवार र केटाकेटीसमेत लिएर भारततर्फ हिँडेका छन् ।
‘भारत जानेमध्ये धेरैले बनबासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्दछन् । महाकाली यातायातको बसमा यात्रा गर्ने ८० प्रतिशत यात्रु भारत जाने नै हुन्छन् । गएको कात्तिकदेखि नै भारत जानेको लर्काे लागेको हो’, सुदूरपश्चिम यातायातको सिमखेत काउन्टरका सदस्य जीवन खड्काले भने, ‘यो वर्ष भारत जानेको सङ्ख्या गएको वर्षभन्दा दोब्बरले बढी छ ।’ धैरैजसो श्रीमती र केटाकेटीसहित जाने गरेको उन्ले बताए ।
यही वर्ष आएको बाढी–पहिरोले जमिन नै लगेपछि भारत जानेको सङ्ख्या गएको वर्षभन्दा बढेको हो ।
गाउँमा काम नपाएपछि वृद्ध आमाबुबालाई घरको जिम्मा लगाएर श्रीमती र छोरासहित भारतको बेङ्गलोर हिँडेको दुर्गाथलीका सुशील विष्टले बताए । ‘खेतीपातीमा उब्जनी छैन, आमाबुबाको उपचार गर्नुछ, सबैको पेट पनि पाल्नै पर्यो’, गहभरी आसुँ बनाउँदै उनले भने, ‘गाउँमा काम पाइँदैन, भारत नगएर के गर्नु ?’
श्रीमती र परिवारसहित गएकाहरु एक–दुई वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका धेरैजसो मानिसहरू जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन् ।
भारत जानेको सङ्ख्या यकिन नभए पनि गएको असोज र कात्तिक महिनामा आएको बाढीपछि विभिन्न गाउँबाट १५ हजारको हाराहारीमा मानिसहरू भारत गइसकेको अनुमान छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology