बुटवल । बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ मा स्कलर्स होम बोर्डिङ स्कुल र होराईजन जिविएस बोर्डिङ स्कुल फाईनलमा प्रवेश गरेको छ ।
क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा होराइजन जिबिएसले सेन्ट जोसेफ बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३-२ गोल तथा दोस्रो सेमीफाईनलमा स्कलर्स होम बोर्डिङ स्कुलले क्यानन सेकेण्डरी स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेल निर्धारित समयमा बराबरी भएपनि ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा होराईजन भाग्यशाली बन्यो । प्रतियोगितामा होराईजनले सबै खेल ट्राईबेकर जित्दै आएको छ । यता अर्को खेलमा स्कलर्सले आयोजक क्याननलाई २ गोलले पराजित गरेको हो । स्कलर्सको जितमा डिफेन्डर श्याम बुढामगरले दुबै गोल गरे ।
उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको फाईनल शुक्रबार हुनेछ । प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँबाट पुरस्कार गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडी ३ हजार रुपैया, उत्कृष्ट गोलरक्षक र सर्वाधिक स्कोरलाई २ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको खेल संयोजक पवन बश्यालले जानकारी दिए । प्रतियोगितामा ३० वटा विद्यालयहरु सहभागी भएका थिए । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology