देवदह । दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा आयोजक र राजनीतिक दल बीचको अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी राजनीतक दलहरुले मेला देवदहको पहिचानसंग जोडिएको उल्लेख गर्दै यसलाई सफल पार्न सबैको सहयोग रहनुपर्नेमा जोड दिएको जनाइएको छ ।
बैठकमा बोल्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले महोत्सवलाई सफल बनाउन राजनितिक दलहरुको साथ, सहयोग र सुझाव आवश्यक हुने बताए । मेलालाई थप व्यवस्थित गर्न र उद्धेश्य अनुरुप संचालन गर्न स्थानीय सरकार र राजनीतिक दलको भूमिका महत्वपर्ण हुने उल्लेख गर्दै उनले सबैका सुझाबलाई मनन गर्दै मेलालाई थप परिस्कृत ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।
छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका जिल्ला सहसचिव वासुदेव रिमालले महोत्सवले स्थानीय युवा विद्यार्थीको प्रतिभा प्रस्फुटन, स्थानीय उत्पादनको प्रवर्धन र देवदहलाई राष्ट्रियस्तरमा चिनाउन मेला महत्वपुर्ण प्लेटफर्मको रुपमा विकास भएको धारणा राखे । उनले मेलामा हुने विचार गोष्ठी, स्थानीय उत्पादनको प्रदर्शनी र राष्ट्रिय कलाकारको देवदह आगमनले देवदहको आर्थिक, सामाजिक विकासमा योगदान दिने बताए । उनले मेलामा देवदह नगरपालिकाले सबैखाले सहयोग गर्नुपर्ने विचार राखे ।
त्यसैगरी नेकपा (एमाले) का देवदह नगर अध्यक्ष केशव भट्टराईले अध्यक्ष भट्टराईले आयोजकले सुरक्षाको विषयलाई मजबुत बनाउन आग्रह गरे । उनले मेलालाई स्थानीय सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै मेला आयोजक र स्थानीय सरकार बीच सहकार्य आवश्यक रहेको बताए । 'सबै स्थानीय तहले स्थानीय मेला/महोत्सवलाई सहयोग गरी नै रहेको देखिएको छ ।' अध्यक्ष भट्टराईले भने, 'देवदह नगरपालिकाले पनि सहयोगलाई निरन्तरता दिनुपर्छ ।'
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका देवदह संयोजक दीपक न्यौपाने, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष धनु पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष झगरिलाल मरासिनी, नेकपा माओवादीका मुक्ति अर्याल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका ऋषिराम लामिछाने लगायतले बोल्दै आफ्नो दलबाट मेलालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मेलाका प्रमुख सल्लाहकार तथा उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठडराईले महोत्सव स्थानीय सरकार, सबै राजनीतिक दल, संचारकर्मी, युवा-विद्यार्थी सबैको साझा भएको धारणा राख्दै सबैका विचार र भावनालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।
स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology