परासी । पछिल्लो साता तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि नवलपरासीको रामग्राम नगरपालिकाले नगरवासीलाई राहत दिन सक्रियता देखाएको छ ।
नगरपालिकाले नगरका मुख्य चोक, चौतारा र सार्वजनिक स्थानहरूमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । पहिलो चरणमा बढी आवतजावत हुने स्थानहरूमा दाउरा पुर्याइएको र नगरका अन्य सबै वडा तथा आवश्यक स्थानहरूमा यो क्रम विस्तार गरिने नगर प्रमुख धनपत यादवले जानकारी दिए ।
‘चिसोले विशेषगरी विपन्न परिवार, वृद्धवृद्धा र बालबालिकालाई बढी असर पुर्याउने हुँदा हामीले तत्कालै दाउरा वितरणको काम सुरु गरेका हौँ ।’ विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका यादवले भने, ‘नगरवासीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता हो । त्यसैले नगरवासीले चिसोका कारण कष्ट भोग्नु नपरोस् भन्ने कुरामा हामी सचेत छौँ ।’ प्रमुख यादवले जाडो बढेको खण्डमा राहतका अन्य प्याकेज ल्याउने पनि जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले नगरपालिकाले दाउरा वितरणसँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यानो कपडा प्रदान गर्ने निर्णय गरेको बताए । पाण्डेयले प्रशासनिक रूपमा विपद् व्यवस्थापनका सबै संयन्त्रलाई परिचालन गरिएको जानकारी दिदैं स्वास्थ्य शाखामार्फत पनि चिसोबाट लाग्ने रोगहरू न्यूनीकरणका लागि तयारी गरिरहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology