देवदह । दशौं राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ को तयारीका क्रममा बुधवार युवा-विद्यार्थीहरूसंग छलफल गरीएको छ । मेलाको तयारीबारे युवा-विद्यार्थीहरूसंग छलफल भएको र उनीहरूका सुझावलाई नोट गरिएको मेलाका सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजक गणेश विकले जानकारी दिए ।
पछिल्लो पुस्ताका सुझाव लिएर मेलालाई परिस्कृत ढंगले संचालन गर्ने उद्धेश्यले युवा-विद्यार्थीसंग छलफल गरिएको संयोजक विकले बताए ।
छलफलमा बोल्दै मेला मूल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले युवा उद्यमीहरुलाई बढीभन्दा बढी स्टल लिन अनुरोध गरिएको तथा मेलालाई कसरी युवा-विद्यार्थी मैत्री बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित भएको बताए । 'हामी धेरैभन्दा धेरै युवालाई समेट्न चाहान्छौं, महिलालाई समेट्न चाहान्छौं र स्थानीय संघ, संस्था र व्यावसायिक प्रतिष्ठानलाई समेट्न चाहान्छौं । त्यसैले निरन्तर छलफल गर्ने र सुझाव लिने कार्य जारी छ ।' उनले भने ।
छलफलमा सहभागी युवा-विद्यार्थीहरुले मेलालाई व्यावसायिक र मर्यादित बनाउन आग्रह गरे । घाटामा नजाने गरी मेला संचालन गर्न र नि:शुल्क पासको सट्टा निश्चित रकम तिरेर खरिद गर्न सकिने र मेला अवधिभर चल्ने विशेष पासको व्यवस्था गर्न उनीहरुले आयोजकलाई सुझाव दिए । युवाहरुले मेला स्थलमा स्तनपान कक्षको व्यवस्था गर्न समेत सुझाव दिएको मेलाका सचिवालय संयोजक विनिराम सोमैले जानकारी दिए ।
छलफलमा युवा संघका नेता चन्द्रकान्त खरेल 'ध्रुव', रोशन खड्का, तरुण दलका सागर अधिकारी, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) का गोपाल तमु, स्वतन्त्र विद्यार्थी युनियन देवदह आदर्श क्याम्पस अध्यक्ष तथा अनेरास्ववियुका अश्विन न्यौपाने, नेपाल विद्यार्थी संघका रेवन्त शर्मा, अखिल क्रान्तिकारीका रविन न्यौपाने लगायतका युवा विद्यार्थीहरुको सहभागिता थियो ।
यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।
स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology