कृष्ण अन्जान, गुल्मी । एकाबिहानै आफ्नाे फेसवुक वालमा रुरुक्षेत्र गाउँपालिका वडा नं. १ भट्कुवाका फर्सुराम पौडेलले कसैकाे गाउँबाट बसाईसराईका लागि जाँदै गरेका पाेका पुन्तुराका फाेटाे हाले । पौडेल तिनै सामाजिक अभियन्ता हुन जस्ले आफ्नाे मातृभूमि भट्कुवा गाउँ फर्केर कुखुरा बाख्राकाे व्यवसायीक पालन गर्छन । उनकाे नजिकैको रिडीबजारमा सुविधा सम्पन्न घर छ । सुखकाे जिन्दगी विताउन सक्छन तर रिडीबजारबाट करिब एकघण्टा माथिकाे भट्कुवा गाउँले उनलाई तानेको छ ।
समृद्धिकाे यात्रा गाउँबाटै सुरु गरिनुपर्छ भन्ने बुझेका फर्सुराम पौडेल काेहि कसैले बसाईसराई गर्दै गाउँ छाड्दा मन अमिलाे हुने बताउँछन् । कुनै बेला भट्कुवा खाेलादेखि करिब डेढ घण्टाकाे नाके उकालो चढेर गाउँ पुगिन्थ्याे । त्यतिबेला गाउँमा मान्छेहरू डमक्कै थिए । अहिले दुई तिन तिरबाट सडक गाउँमा पुग्छ तर मान्छे गाउँ छाड्दैछन ।
यहि भट्कुवा हाे जुन गाउँमा एक खेप पानीका लागि एक डेढ घण्टाकाे यात्रा तय गर्नु पर्थ्याे तर अहिले पानी घरघरै छ । बिजुली छ । सन्चारकाे सुविधा सबै छ तर गाउँ रित्तँदै छ ।
समयकाे खेल गाउँमा खेल मैदान बन्याे । खेल्ने काेहि छैन । तीन वटा विद्यालय छन । पढ्ने विद्यार्थी छैनन। स्वास्थ केन्द्र छन, बिरामी आउँदैन । साँच्चै गाउँ यसरी रित्तिएका छन कि मानौ केही वर्षमा घर गाेठ र गाउँ जँगलमा परिणत हुनेछ र सायद गुगलले पनि गाउँ पत्ता लगाउन सक्ने छैन ।
मान्छेहरु सुखकाे खाेजिमा गाउँ छाडेकाे कुरामा दुईमत छैन । यसमा राज्यका निकायहरुपनि दाेषि छन । मुख्यतया राेजगारीकाे अवसर गाउँमा छैन । पहिलाे यहि कारण रहेकाे भनाई बसाइँ सर्नेहरुकाे छ ।त्यसाे त शहर तिर बसेर गाउँकाे विकास हुनुपर्छ भनेर चुटकि बजाउनेहरु पनि छन ।
शहरमा आफु केन्द्रित हुने र गाउँकाे विकासका फाेस्रा कुरा गर्ने तर गाउँलाई सम्झँदा नाक खुम्च्याउने प्रवृत्तिले पनि गाउँबाट बसाइँसराइ बढेकाे छ । गाउँबाट पलायन राेक्न भुमिकाे स्वामित्व माथि गाउँपालिकाले हस्तक्षेप गरिनु पर्ने अवधारणा वौद्विक व्यक्तित्व वेदराज ज्ञवालीकाे छ । जसले जमिन बाँझाे राख्छ, त्याे जमिन गाउँपालिकाले आफ्नाे पकडमा लिँदै भुमिहिन र जस्ले कृषि कर्म गर्न खाेजेकाे छ, उसैलाई दिने नीति ल्याउने हाे भने बसाइँसराइ आफ्नाे जग्गाको मायाँले भएपनि राेकिने तर्क ज्ञवालीकाे छ ।
तर राजनीति बाहेक अरु केही नबाेल्ने र नसाेँच्ने स्थानीय तहमा याे तहसम्मकाे साेँचाई पाइँदैन । जब गाउँ नै रित्तिँदै गयाे भने विकासका बजेट परिचालन र राजनिती को माथि र कस्का लागि गर्ने याे एउटा वहसकाे विषय बनेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology