बुटवल । पाल्पा पालुङ्ग मैनादी रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा प्रथम अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष पदमनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक लोक बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै कुँवरले पाल्पामा जन्मेर विभिन्न पेशा तथा व्यवसायमा बुटवलमा आएका दाजुभाइ, दिदीबहिनीहरुको आपसी माया, सद्भाव र सम्बन्ध विस्तारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । उनले सम्पर्क समाजले रचनात्मक कार्य गर्दै अगाडि बढेको बताउँदै ९४ वर्षको उमेरमा पनि आफुले संस्थाको आजिवन सदस्यता लिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष अशोक कुँवर, सल्लाहकारद्वय कृष्ण बहादुर कुँवर, गोविन्द कुँवर, रण बहादुर कुँवरलगायतले शुभकामना मन्तव्य राख्दै संस्था विधान संवत तरिकाले अगाडि बढ्दै छरिएर रहेका पालुङ्ग मैनादी बासीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेतृत्वलाई धन्यवाद व्यक्त गरेका छन् ।
साधारणसभामा अध्यक्ष पदमनाथ नेपालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । कार्यक्रममा समाजको आजिवन सदस्यता लिएका ३५ जना सदस्यहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । साथै साधारणसभाका दिन ६५ जनाले साधारण सदस्यता लिएका छन् । समाजका वरिष्ठ उपाध्यक्ष मिनप्रसाद नेपाल (बिमल) को स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन सचिव शंकर विकेले गरेका थिए ।
प्रथम अधिवेशनले पदमनाथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मिनप्रसाद नेपाल (बिमल), उपाध्यक्षमा रिता थापा बोहरा, सचिवमा शंकर विके, सहसचिवमा गुन बहादुर गाहा, कोषाध्यक्षमा कमलप्रसाद आचार्य चयन भएका छन् ।
त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा रामप्रसाद गैरे, सरिता पन्थी नेपाल, सन्तोष कुँवर, यादव कुँवर, तुलसा कुँवर, लेखा समिति संयोजकमा हरि बहादुर नेपाल, लेखा समिति सदस्यहरुमा सिताराम रणपाल र मीना एसी कुँवर चयन भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology