भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत दुई दिवसीय टेष्ट रुपन्देह-११ ले हात पारेको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई १ सय १ रनले पराजित गर्दै जीत निकालेको हो ।
आइतबार रुपन्देहीले पहिलो इनिङमा १ सय २२ रन बनाएको थियो भने आर्मीले दुई १ सय ५५ रन बनाएको थियो । यसक्रममा आर्मीका जितेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहेका थिए ।
सोमबार भएको दोस्रो इनिङमा रुपन्देहीले २ सय ५ रन बनाएर पारी घोषित गर्यो । जसमा देव खनालले ७८ र प्रज्वल थापाले नटआउट ४२ रन बनाए । बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २-२ विकेट लिए । आर्मीले पहिलो दिन १६ रनले अग्रता लिए पनि दोस्रो दिन रुपन्देहीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भयो ।
रुपन्देहीको इनिङ सुरु हुनु अघि आर्मीले ३३ रनले अग्रता लिएको थियो । आर्मीका प्रदीप पेलाले २१, जितेन्द्रसिंह ठकुरीले १७ र प्रदीप सिंह चाइसिरले १६ रन बनाए । बलिङमा रुपन्देहीका सन्देश थापा र अजयकुमार चौहानले ३-३ तथा सुरज खड्का र विशाल भुसालले १-१ विकेट लिए । अजयकुमार चौहान म्यान अफ द म्याच घोषित भए ।
नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । दुई दिवसीय टेष्ट सकिएसँगै मंगलबारबाट वनडे सिरिज हुनेछ । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् ।
प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार पुस २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी-ट्वान्टी क्रिकेट सिरिज हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology