देवदह । देवदहमा फागुन १ देखि राष्ट्रपति रनिङ शिल्ड छनौट सुरु हुने भएको छ । बिहिवार पत्रकार भेटघाट गर्दै नगरपालिकाले फागुन १ देखि ३ गतेसम्म प्रतियोगिता हुने जनाएको छ ।
प्रतियोगितामा १४ सामुदायिक र १३ संस्थागत गरी २७ विद्यालयका कुल १ हजार २७५ जना विद्यार्थी सहभागिता रहने नगरका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत परशुराम ढकालले जानकारी दिए ।
तेस्रो देवदह नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रवार देवदह-५ स्थित पानबारी खेल मैदानमा उद्घाटन हुनेछ ।
प्रतियोगिताका लागि नगरपालिकाले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट्सअन्तर्गत कराँते समावेश गरिएको छ । भलिवल र कबड्डी छात्र तथा छात्रा दुवै विधामा हुनेछन् ।
एथ्लेटिक्सअन्तर्गत ट्र्याकतर्फ १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि., ४×१०० मि. रिले र ४×४०० मि. रिले प्रतिस्पर्धा हुनेछन् । फिल्डतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुट समावेश छन् ।
कराँतेतर्फ छात्रमा यू–४२ केजी, यू–४७ केजी, यू–५२ केजी, यू–५७ केजी, यू–६२ केजी र काता (एकल) तथा छात्रामा यू–४० केजी, यू–४५ केजी, यू–५० केजी, यू–५५ केजी, यू–६० केजी र काता (एकल) प्रतिस्पर्धा हुनेछ ।
एउटै खेलाडीले भलिवल, कराँते र कबड्डीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ । एथ्लेटिक्सतर्फ प्रत्येक खेलाडीले बढीमा एक फिल्ड र दुई ट्र्याक वा दुई फिल्ड र एक ट्र्याक इभेन्टमा मात्र सहभागी हुन पाउनेछन् ।
विधागत सहभागिताअनुसार छात्र भलिवलमा १२४, छात्रा भलिवलमा १६७, छात्र कबड्डीमा १३०, छात्रा कबड्डीमा १३२, एथ्लेटिक्समा ५४० र कराँतेमा ८८ विद्यार्थी सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रथमलाई २५ हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
यसअघि विद्यालयहरुले प्रतियोगिताको व्यवस्थापन गर्दै आएकोमा यो पटक सम्पूर्ण व्यवस्थापन नगरपालिकाले आफै गर्ने जनाइएको छ । कुनैपनि विद्यालय इच्छुक नदेखिएको र खर्च कटौतीका हिसाबले पनि नगरपालिका आफैले खेलको व्यवस्थापन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
यसअघिका प्रतियोगितामा १८-१८ लाख खर्च भएको र यो पटक १२ लाखभित्रै खर्च व्यवस्थापन गर्न लागिएको शिक्षा, युवा तथा खेलकुद शाखाको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology