तिलोत्तमा । अहिले मुलुकभरि युवा नेताको खोजी भइरहेको छ । युवा र परिवर्तनको पक्षधर नेताको माग भइरहेका बेला रुपन्देहीलाई भुइँ तहबाट चिनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता प्रज्जवल बोहरा (प्रशान्त) रुपन्देही-१ बाट उम्मेदवार बनेका छन् । तीन वर्ष अघि आफ्ना बुवा स्वर्गीय दीपक बोहराको चुनावी अभियानमा सहभागी भएदेखि उनी जनता माझ छन् ।
आफ्ना बुवाले रुपन्देही-३ बाट चुनाव जिते पनि स्वास्थ्यका कारण मतदाता माझ पुग्ने अवस्था नभएपछि प्रज्जवलले नै जनप्रतिनिधिको भूमिका निभाएका थिए । त्यसक्रममा जनताका हरेक समस्यामा उनी हातेमालो गर्न पुगेका थिए । आफू वास्तविक जनप्रतिनिधि नभए पनि रुपन्देही जिल्लाभर उनको उपस्थिति रहेको थियो ।
यसपटक १८ वर्षपछि राप्रपाले रुपन्देही-१ स्वर्गीय बोहराका छोरा प्रज्जवललाई उम्मेदवार खडा गरेको छ । डेढ दशक अघि त्यही क्षेत्रबाट उम्मेदवार बनेका उनका बुवाले विकासको जग हालेका थिए । सडक, सिंचाई र खानेपानीको सुविधा पुर्याएका थिए । अहिले प्रज्जवलमाथि बुवाले सुरुवात गरेका कामलाई निरन्तरता दिने र जनचाहना अनुसार नयाँ काम गर्ने अभिभारा आइपरेको छ । त्यसका लागि रुपन्देही-१ का जनताले दल नहेरी विकास प्रेमी युवा नेतालाई रोज्नुपर्ने राप्रपाले बताइरहेको छ ।
पार्टीले रुपन्देही-१ को विकासको भारी बोक्न सक्ने सुझबुझ भएका बोहरालाई उम्मेदवार बनाएको राप्रपाले जनाएको छ । आफ्नो क्षेत्रको विकासका लागि बोहराले भ्रष्टाचार न्यूनिकरण र विद्युतीय सुशासनमा जोड दिएका छन् । लामो समय अमेरिकामा बसेर आफ्नै जिल्ला फर्किएका उनले नागरिकलाई निराश नबाउने गरि विकास योजना लागू गर्ने बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुपमा लागू गर्दै अधिकार सम्पन्न स्थानीय सरकार बनाइने उनले बताएका छन् ।
ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता अपनाएर हरेक वर्ष जनतासमक्ष आफूले सम्पादन गरेका कामको प्रतिवेदन प्रस्तुत गर्ने पनि बोहराको भनाई छ । ‘जनताले प्रश्न सोध्ने र मैले जवाफ दिने कामको सुरुवात गर्नेछु ।’ उनले भने, ‘रोजगारी र अर्थतन्त्र सुधार, अव्यवस्थित र भूमिविहीनलाई जग्गाको व्यवस्थापन, युवाका लागि स्थानीय रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धन, स्थानीय उद्योगमा रोजगारीको व्यवस्था सृजनाका साथै वैदेशिक रोजगारी सुरक्षित, सम्मानजनक र देशमै पूँजी भित्राउने नीति लागू गर्नेछु ।’
शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजनालाई पूर्णता दिँदै राजनीतिकरणबाट मुक्त बनाउने उनले प्रण गरेका छन् । सरकारी विद्यालयको भौतिक संरचनाको निर्माण र अध्ययन गर्ने विद्यार्थीको गुणस्तर अभिवृद्धि गरिने उनको भनाई छ । ‘श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयलाई क्याम्पसमा परिणत गरी सर्वसुलभ शुल्कको व्यवस्था गरी गुणस्तरीय पठनपाठनको व्यवस्था गरिनेछ ।’ उनले भने, ‘सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड शिक्षक व्यवस्थापन र शिक्षामा समान पहुँच बढाउनेछु ।’
यसका साथैं स्वास्थ्य सेवा सबै नागरिकका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा बनाइने पनि उनले बताएका छन् । ‘गाउँ-नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउ र आफ्नो क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गरिनेछ ।’ उनले भने, ‘धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवा सहितको सुविधा । स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनेछु ।’ कृषि र खाद्य सुरक्षा व्यवसायिक कृषि प्रवद्र्धनमा जोड दिँदै किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिंचाई, भण्डारण र आधुनिक कृषि प्रविधि आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्न पहल गर्ने उनले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology