काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।
उनले आफ्नो पार्टीले पनि सोचेअनुसारको नतिजा ल्याउन नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने बताएका छन् । जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उनले उल्लेख गरे ।
अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर साथ दिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले निर्वाचनको परिणाम अनुकूल नभए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको स्पष्ट पारेका छन् । ओलीले पार्टी आगामी दिनमा पनि जनतामाझ रहेर उनीहरूको हितका लागि काम गर्दै विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने बताएका छन् ।
उनले भनेका छन्-
दिदीबहिनी तथा दाजुभाइहरू, यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology