माधव ज्ञवाली, गुल्मी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँ गाउँमा राजनितिक माहोल तात्न थालिरहेका छन् भने उम्मेद्बारी घोषणा गर्ने क्रम पनि बढिरहेको छ।
पछिल्लो समय देशका विभिन्न स्थानहरुमा युवाहरुको जोस र जाँगर बढी नै देख्न सकिन्छ। कहिँ स्वतन्त्र उम्मेद्बारी त कतै पार्टीगत रुपमै पनि विभिन्न पदमा युवाहरूले आफ्नो दावी गर्दै आइरहेका छन् ।
यसको प्रत्यक्ष असर गुल्मीको रुरुक्षेत्रमा पनि देखिएको छ। विद्यार्थी जीवनदेखि नै अनेरास्ववियुको राजनीति गर्दै आएका रुरुक्षेत्र गाउँपालिका वडा न.४ चौताराका रामचन्द्र गौतमले वडा अध्यक्षमा आफ्नो दावी रहने बताएका छन् ।
उनको यो दावी सङ्गै रुरुक्षेत्रभित्र एमालेमा एक किसिमको तरंग फैलिएको छ। राजनीतिभित्र आफुले देखिरहेको बेथिति ,विसंगति र भ्रष्टाचारको अन्त्य गर्ने संकल्पको साथ आफुले यो निर्णय गरेको गौतम बताउँछन् ।
सेतोमसीसंगको संवादमा गौतम भन्छन् ," वडा न.४ मा भइरहेको विकासको सवालमा त मेरो कुनै गुनासो छैन। तर नेतृत्वले सिमित स्रोत र साधनका कारण कतिपय कुराहरु घोषणापत्रमा उल्लेख गरेअनुसार सम्पन्न गर्न नसकेको चाहिँ सत्य हो। अघिल्लो स्थानीय चुनावको बेलाको पार्टीको घोषणा पत्रलाई आधार मान्ने हो भने मैले ती काम गर्न सक्छु भन्ने हिम्मत छ। युवा हुँ त्यसमा पनि केही नंया सोच छ, नंया जागर छ, त्यसैले वडाध्यक्षमा मेरो दावी छ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology