काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
सभामुख पदका लागि अर्यालको एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । संघीय संसद् सचिवालयले तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सो अवधिमा अर्यालले मात्र मनोनयन दर्ता गरेका थिए ।
अर्यालको प्रस्तावक रास्वपाका सभापति रवि लामिछाने रहेका थिए भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका थिए ।
उनी आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट औपचारिक रूपमा सभामुख पदमा निर्वाचित भएको घोषणा हुने संघीय संसद् सचिवालयले जनाएको छ ।