काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । जसका लागि सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको सिफारिस बमोजिम राष्ट्रपतिले बैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन ।
प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने प्रावधान छ ।
हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थ प्राबिधिक रुपमा फिर्ता लिएको छैन । यद्यपि ब्यबहारिक रुपमा माओवादी केन्द्र सरकारको पक्षमा छैन ।त्यसैले अहिले प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।
सरकारलाई हेर्ने दृष्टिकोणमा जनता समाजवादी पार्टीभित्र विवाद छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अहिलेकै सरकारप्रति नरम छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology