गुल्मी, धुर्कोटको अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारी उमेदवार बनेका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारी उमेदवार बनेका हुन् ।
गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ(आफ्नै अडान लिएपछि निर्णयको लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अधिकार दिइएको थियो । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्कोट गाउँपालिकामा सत्तारूढ गठबन्धनको तर्फबाट काँग्रेसले अध्यक्ष पाएको बताए । काँग्रेसको तर्फबाट सर्वसम्मत उमेदवार बनेका भण्डारी गठबन्धनको साझा उमेदवार बनेको श्रेष्ठले बताए । धुर्कोट गाउँपालिकाको अध्यक्ष नपाएको नेकपा माओवादी केन्द्रले मदाने गाउँपालिकाको अध्यक्ष पाउने छ ।
सत्तारूढ गठबन्धनबाट धुर्कोट गाउँपालिकाको अध्यक्षमा उमेदवार बनेका भण्डारी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् । भण्डारी कांग्रेसमा मात्र नभई अन्य राजनीतिक दलसँग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन् । निरन्तर राजनीतिमा सक्रिय भण्डारी स्थानीय र राष्ट्रिय स्तरमा निकै सक्रिय मानिन्छन् ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology