माधव ज्ञवाली, गुल्मी । नेकपा एमालेले सोमबार निकै तामझामका साथ आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गर्यो। नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवाली, प्रदेश सांसद कमलराज श्रेष्ठ सहितको र्याली दिउँसो बलेटक्सार बजारदेखि गाउँपालिकासम्म पंचेबाजा र नाराबाजीका साथ पुगि गाउँपालिकाको निर्वाचन कार्यालयमा सबै उम्मेदवारको मनोनयन दर्ता गरेको हो।
एमालेले गाउँपालिका अध्यक्ष पदमा युवा नेता हिमाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेसङ्गै श्रेष्ठले दिउँसो करिब २ बजेतिर मनोनयन दर्ता गरे ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका इन्चार्ज समेत रहेका नेता श्रेष्ठले मनोनयन दर्ता गर्दै आफ्नो उम्मेदवारी "समृद्द रुरु सुखी जनता" को लागि रहेको बताए। यस गाउँपालिकाका जनताको समृद्धि नै आफ्नो मुख्य चाहाना रहेको र सोहि अनुरुप आफुले काम गर्ने उनले बताए।
एमालेले श्रेष्ठ सहित उपाध्यक्षमा मिना गौतम, वडा न.१ वडा अध्यक्षमा नवराज विक, वडा न.२ मा घनश्याम अर्याल,वडा न.३ मा शेषनारायण पौडेल, वडा न.४ मा मोतिप्रसाद श्रेष्ठ, वडा न. ५ मा पदम श्रेष्ठ र वडा न.६ मा रोमनाथ पौडेलको टिमलाई चुनावी मैदानमा उतार्दै छ।
यता संयुक्त गठबन्धनले पनि आजै आफ्ना सबै उम्मेदवारहरुको मनोनयन दर्ता गरेको छ । तर एमालेले जस्तो तामझाम र बाजागाजा र शक्ति प्रदर्शन भने देखाएन।" शक्ति प्रदर्शनको नाममा केही मान्छे बटुल्दैमा र बाजागाजा सहितको तामझाम देखावटी भएकोले यसले फजुल खर्च निम्त्याउने बाहेक अरु केही हुँदैन।" गठबन्धनका एक नेताले बताए ।
आफुहरु शान्तिपुर्ण तरिकाले कुनै नाराबाजी बिना गाउँपालिकाको निर्वाचन कार्यालयमा पुगि उम्मेदवार मनोनयन दर्ता गरेको उनी बताउँछन् । संयुक्त गठबन्धनको तर्फबाट रुरुक्षेत्र गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट युवा नेता यदु ज्ञवाली चुनावी मैदानमा भिड्दैछन। नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष समेत रहेका ज्ञवालीले दिउँसो करिब ३ बजेतिर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता भएसङ्गै गाउँपालिका अध्यक्षका लागि युवा नेता यदु ज्ञवाली र हिमाल श्रेष्ठ भिड्ने पक्कापक्की भएको हो।
०७४ को चुनावमा पराजित हुँदा सत्ताबाहिर रहेर पनि निरन्तर विकास निर्माणका कामद्वारा यस क्षेत्रका युवामाझ लोकप्रिय रहेका नेता ज्ञवाली र लामो समयदेखि एकतर्फी राज गर्दै आएको नेकपा एमालेका युवा नेता श्रेष्ठ बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
मनोनयन दर्ता गर्दै नेता ज्ञवालीले आफ्नो उम्मेदवारी समग्र रुरु र यस् क्षेत्रका जनताको समृद्धिका लागि मात्र नभएर विकासमा गरिने राजनैतिक भेदभाव अन्त्य गर्दै गाउँको विकासलाई उत्पादन सङ्ग जोड्दै यस् क्षेत्रका जनताको मुहारमा खुसी ल्याउनको लागि रहेको बताए।
गठबन्धनको तर्फबाट वडा न.१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नेता अमुल्य श्रेष्ठ, वडा २ मा नेपाली कांग्रेसका नेता मंगलबहादुर रेगामी, वडा न.३ मा एकीकृत समाजवादीका नेता नरहरी ज्ञवाली, वडा न.४ बाट नेकमा माओवादीका नेता कमल श्रेष्ठ, वडा न. ५ बाट पनि नेकपा माओवादीका नेता हरि ज्ञवाली र वडा न.६ बाट नेपाली कांग्रेसका नेता फर्सबहादुर दर्लामीको टिम चुनावी मैदानमा उत्रँदै छ।
रुरुक्षेत्र गाउँपालिकामा रास्टृय जनमोर्चाले भने गठबन्धन नगर्ने भएको छ । जनमोर्चाका यस क्षेत्रकै पुरानो नेता टेकबहादुर केसीले वडा न.४ को वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आफुले यस क्षेत्रमा रहेर विगत लामो समयदेखि जनताको सुख दुःखमा सेवा गरिरहेकोले आफुलाई जनताले मत दिएर जिताउने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology