गुल्मी । गत सोमबार विभिन्न दलहरूले आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराए। जिल्लाको रुरुक्षेत्रमा पनि निकै उत्साहका साथ दलहरूले आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराए।
संयुक्त गठबन्धनले कार्यकर्ताहरुको सहभागितामा गाउँपालिकाको निर्वाचन कार्यालयमा पुगि उम्मेदवारहरुको मनोनयन दर्ता गरायो। मनोनयन दर्ता भएसङ्गै गठबन्धनका नेता एवं कार्यकर्ताहरुमा एक किसिमको उत्साह देखिन्थ्यो। गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष पदका साझा उम्मेदवार यदु ज्ञवाली र उपाध्यक्ष पदका उम्मेदवार दुर्गा ज्ञवाली लगायतका उम्मेदवारहरुको प्रचारप्रसारमा गठबन्धनका सबै कार्यकर्ता एवं नेताहरू खुलेरै लागेको देखिन्छ।
यदु ज्ञवाली नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष समेत हुन् ।०७४ को चुनावमा सोही पदमा हार बेहोरेर पनि रुरुक्षेत्रको विकासका लागि प्रदेश र केन्द्रबाट बजेट बिनियोजन गरि विकास निर्माण कार्यमा उनी सक्रिय रहेर काम गरेको स्थानीय सर्वसाधारणहरू बताउँछन् ।
लिफ्ट खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्य एवं सडक निर्माणका क्षेत्रमा नेता ज्ञवालीले उल्लेखनीय बजेट बिनियोजन गरि यस् क्षेत्रका जनताको मन जितेका छन् ।
कोरोना महामारीले आक्रान्त पारिरहेको कठिन अवस्थामा रुरुक्षेत्र एवं गाउँपालिका बाहिर जिल्लाका विभिन्न स्वास्थ्य संघसंस्था एवं विद्यालयहरुमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरणमा पनि ज्ञवाली उत्तिकै सक्रिय थिए। यता बर्षातको समयमा पहिरोको चपेटामा परेका एवं सरकारले गरेको लकडाउनबाट आक्रान्त गरिब परिवारलाई राहत वितरणमा पनि ज्ञवालीको पहल गरेका थिए । जसका कारण पनि ज्ञवाली यस् क्षेत्रमा परिचित छन् ।
सत्ताबाहिर रहेर मात्र आफुले सोचेका अनि चाहेका काम गर्न नसकिने ज्ञवालीको भनाइ छ। उनी भन्छन्," सत्ता बाहिर रहेर मैले गर्न सक्ने र मेरो क्षमताले भ्याएको समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने कोसिस गरेकै छु। तर कतिपय काम यस्ता हुन्छन् जसलाई पूरा गर्न त्यो ठाउँमै पुगेको हुनुपर्छ । यसपालि त्यो ठाउँमा रुरुबासी सबैले मलाई पुर्याउनुहुनेछ।"
आफुलाई विश्वास गर्ने आधारहरू आफुले विगतदेखी नै खडा गर्दै आएको र अब रुरुलाई नमुना गराउने जिम्मा एकपटक आफुलाई दिनुहुन पनि ज्ञवालीले अनुरोध गरेका छन् ।
यता नेकपा एमालेले पनि बाजागाजा सहित निकै तामझामका साथ आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गरायो। नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवाली, प्रदेश सांसद कमलराज श्रेष्ठ लगायत पनि बाजागाजा सहितको र्यालीमा उपस्थित थिए।
तर निकै तामझाम र उत्साहका विचमा पनि असन्तुष्ट हुनेहरु थोरै थिएनन् । नेकपा एमालेको गढ मानिएको रुरुक्षेत्रमा कतिपय नेताको अनुहारमा निराशा र हातमा स्वतन्त्र उम्मेदवारीको मनोनयन पत्र देखिन्थ्यो । निकै लामो समय नेकपा एमालेमा योगदान पुर्याएका कतिपय पुराना नेताहरु नै मनोनयन दर्ता कार्यक्रममा देखिएनन् ।
नेकपा एमालेबाट रुरुक्षेत्र गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष रहेका नेता रामलाल वि.कले पुनः वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराए। नेकपा एमालेबाट अध्यक्ष पदमा आकांक्षा राखेका नेता वि.कलाई पार्टीले उम्मेदवारको टिकट दिएको थिएन । आफ्नो लामो समयको योगदान र वडा अध्यक्षको रुपमा रहदा गरेका विकास निर्माणका कामहरुको बेवास्ता र अवमूल्यन गरिएको भन्दै वि.क ले स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
यता वडा न. ३ मा पनि ३ जनाले वडा अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारको लागि मनोनयन दर्ता गराएका छन् । पार्टीले राजनैतिक पहुँचका आधारमा उम्मेदवार चयन गरेको भन्दै उनीहरुले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उम्मेदवार टुंगो लाग्नुपुर्व निकै हर्षउल्लासका साथ पार्टीको प्रचारप्रसार गरिरहेका रुरुका एमाले कार्यकर्ताहरू जिम्मेवार नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएको अवस्थामा केहि निराश देखिएका छन् । रुरुक्षेत्र गाउँपालिका वडा न.४ चौताराका एक कार्यकर्ताले भने," लामो समयदेखि पार्टीको लागि मरिहत्ते गरियो। अहिले राजनैतिक पहुँचका आधारमा पार्टीले उम्मेदवार खडा गरायो। यसप्रति हामी कत्ति पनि खुसी छैनौँ।"
यद्यपि पार्टी भित्र सबै एकढिक्का रहेको र देखिएका असन्तुष्टिहरुलाई बुझेर त्यसको समाधान गरि अघि बढिने नेकपा एमाले रुरुक्षेत्रले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology