गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको उपाध्यक्ष पदका उम्मेदवार गुमान सिंह पुनले आफू विजयी भए सबैभन्दा पहिले शिक्षा ,स्वास्थ्य एवं कृषिका समस्या समाधानमा लाग्ने बताएका छन् । चेतनाको अभावका कारण बाल मजदुर बढेको, प्राथमिक विद्यालयमा अझै पनि सबैको पहुँच नभएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय जनमोर्चाका गुल्मीका जिल्ला सदस्य समेत रहेका उनले छत्रकोटमा किसानलाई शिक्षासँग जोडेर उत्पादन बढाउने कार्यक्रम ल्याउने बताए। स्थानीयलाई कृषिमा आत्मनिर्भर बन्न प्रेरित गरिने उनको भनाइ छ।
भन्छन्,"म जनताको सेवक बनेर शिक्षा, स्वास्थ्य सङ्गै विपन्न वर्गको जीवनस्तर सुधार्ने काममा सक्रिय हुन चाहन्छु।"
छत्रकोटलाई सफा, हराभरा, समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धतासहित आफु पाँच वर्षीय योजना लिएर उम्मेदवारी मनोनयन दर्ता गराएको बताउँदै आफुले सीमान्तकृत, विपन्न र निमुखाको हितमा काम गर्ने उनको भनाइ छ।
गरिबीको रेखामुनि रहेका समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, सडक संजालको विस्तार गर्ने लगायतका योजना आफुसङ्ग रहेको बताउँदै उनले भौतिक पुर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए।
पढेलेखेका युवाहरु गाउँबाट शहर सङ्गै विदेश पलायन हुने क्रम अझै नरोकिएकोले त्यस्ता पढेलेखेका युवाहरुलाई गाउँमै स्वरोजगार गराउने गरि र गाउँमै टिकाउने गरि विभिन्न योजना एवं कार्यक्रमहरु पनि आफुसङ्ग रहेको उनको भनाइ छ।
महिला परनिर्भरता अन्त्य गर्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी आर्थिक पक्ष दरिलो बनाउने पुन बताउँछन् । गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका जनमोर्चाका पुन महिलालाई आर्थिक रुपमा बलियो बनाउन सकियो भने घरपरिवार खुसी रहने मात्र हैन गाउँटोल र पूरै समाजको सबल हुने बताउँछन।
'महिला परनिर्भर हुँदा उनीहरु अझै पनि दबिएकै छन् , अब महिलालाई भान्छाभित्रै सीमित नराखी नेतृत्व पङ्क्तिमा ल्याउने खालका कार्यक्रमको जरुरी छ।' उनी सुनाउँछन।
अहिले पालिकाका लागि चाहिने नीतिनियम, ऐन र कानूनहरु निर्माण भइसकेका छन्। विकासको रुपरेखा कोरिएको छ। सडकहरु स्तरोन्नति गर्ने, बालमैत्री स्थानीय शासन कायम गर्ने, जनताको जीवनस्तर उकास्न कृषिमा लगानी वृद्धि गर्ने, सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, शिक्षामा पहुँच बढाउने र प्रविधिमैत्री शिक्षा प्रणाली ल्याउने जस्ता उनका चुनावी योजना छन्।
पुन गत स्थानीय निकायको चुनावमा छत्रकोट गाउँपालिका वडा न.३ हर्दिनेटाको वडा सदस्य पदमा सर्वाधिक १ हजार ४ सय ९१ मत सहित निर्वाचित जनप्रतिनिधि समेत हुन। वडा सदस्य पदबाट राजिनामा दिएर उम्मेदवारी दर्ता गराएका पुन भन्छन्," विगत ५ बर्षमा गाउँगाउँमा सबैखाले मानिसङ्ग घुलमिल हुने र उनिहरुसङ्ग दुख सुख साट्ने अवसर मिल्यो।जनताको हितका लागि म वडा सदस्य पदमै बसेर पनि आफ्नो पद र क्षमताले भ्याएको काम गरेकोले पुनः छत्रकोटका जनताहरुले मलाई विश्वास गर्नुहुनेछ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology