माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा बाम- लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पुर्वाधार विकास, खेलकुद र पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइएको छ। आफुहरुले जनतासमक्ष ल्याएका प्रतिबद्धताहरु गाउँको मुहार फेर्न र गाउँलाई बस्न लायक बनाउने अभिप्रायले रहेको गाउँपालिका अध्यक्ष पदका उम्मेदवार यदु ज्ञवालीले बताएका छन् । गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार दुर्गा ज्ञवालीले आफुहरु आफ्नो वचनबद्दता प्रती प्रतिबद्ध रहेको बताएकी छन् ।
यस्तो छ प्रतिबद्धता पत्रको पूर्णपाठ (जस्ताको तस्तै):
शिक्षा
१. विद्यालय स्तरमै कुखुरा पालन, कृषि, मौरी पालन, पाक शिक्षा, श्रृङ्गार, डकर्मी, सिकर्मी, फर्निचर बनाउने, वेल्डिङ्ग गर्ने, गाडी मर्मत गर्ने, सिलाईबुनाई, विद्दुत वायरिङ गर्ने, कम्प्युटर जस्ता विद्यार्थीको चाहाना र स्थानीय आवश्यकतामा आधारित सीप सिकाएर बालबालिकालाई उद्यमशिल बनाउन, विद्यालयहरुलाई आवश्यक जनशक्ति र आर्थिक सहयोग उपलब्ध गराइने छ।
२. उपयुक्त सीपका आधारमा बालबालिकालाई पढ्दै कमाउँदै कार्यक्रम लागू गरिने छ। अभिभावक माथिको आर्थिक सहयोग उपलब्ध गराइने छ ।
३. पालिका भित्रका माध्यमिक विद्यालय तथा फरक फरक प्राविधिक विषय समावेश गरि अध्यापन गर्ने व्यवस्था मिलाइने छ।
४. सबै माध्यमिक विद्यालयमा आधा घण्टा भन्दा बढी हिड्नु पर्ने बालबालिकाका लागि यातायातको व्यवस्था गरिने छ।
५. ठुला र स्तरीय विद्यालय र कलेजका प्राध्यापकहरुबाट इन्टरनेट तथा जुम जस्ता प्रविधिबाट सिक्ने सिकाउने व्यवस्था मिलाइने छ। यसको निमित्त हरेक विद्यालयको कम्प्युटर शिक्षकहरुलाई अनिवार्य तालिमको व्यवस्था गरिने छ।
६. स्थानीय पाठ्यक्रममा आफ्नो जन्मभुमि रास्ट्रपति दायित्व बोध हुने किसिमको नैतिक तथा नागरिक शिक्षा समावेश गरिने छ। बेलाबेलामा बालबालिकालाई नैतिकता, अनुशासन, उत्प्रेरणा, आचरण, शिष्टाचार जस्ता विषयमा विज्ञहरुद्वारा प्रवचन कार्यक्रम संचालन गरिने छ। साथै हरेक विद्यार्थीलाई श्रमको सम्मान गर्ने र देश विकासका निमित्त नि: स्वार्थ योगदान गरिने भावना वृद्धि गर्न माध्यमिक तहभन्दा माथिका सबै शिक्षक तथ विद्यार्थीलाई १० दिन पाठ्यक्रमको अभिन्न अङ्गको रुपमा स्वयं सेवा गर्ने व्यवस्था मिलाइने छ।
७. सम्पुर्ण विद्यालयमा आवश्यक शिक्षक दरबन्दी व्यवस्था गरिने छ।
८." सबैलाई अनिवार्य र नि:शुल्क गुणस्तरीय शिक्षा " को नारा उपयुक्त नीति बनाई कार्यान्वयन गरिने छ।
९. विद्यालयको भौतिक पुर्वाधार सुधार गरिने छ।
१०. सबै विद्यालयमा आधुनिक बालकक्षा(इसिडी) संचालन गरिने छ।
११. माध्यमिक तहको विद्यार्थीका लागि` एक विद्यार्थी एक करेसावारी´ कार्यक्रम लागू गरिने छ। उक्त कार्यक्रमलाई विद्यार्थीको पाठ्यक्रमको अङ्ग बनाइने छ।
१२. दलित तथा निम्न आय भएका परिवारका कम्तीमा ६० जना बालबालिकालाई संस्थागत विद्यालयमा नि:शुल्क कक्षाको व्यवस्था मिलाइने छ।
१३. सामुदायिक क्याम्पस संचालन गर्नको लागि स्रोतको व्यवस्था मिलाइने छ।
स्वास्थ्य
१. रिडि प्राथमिक स्वास्थ्य केन्द्रमा ठुला स्तरीय अस्पताल र शिक्षण अस्पतालहरुसङ्ग सम्झौता गरि विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराइने छ।
२. स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकालाई थप तालिम तथा प्रोत्साहन भत्ताको व्यवस्था मिलाइने छ।
३.एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइनुका साथै अति विपन्नहरुको निमित्त वडाको सिफारिसमा नि:शुल्क अस्पतालको पहुँच बढाइने छ।
४.सुगर, प्रेसर र दमका विरामीहरुलाई नियमित खानु पर्ने ओखती स्वास्थ्य चौकी मार्फत नि:शुल्क र निरन्तर उपलब्ध गराइने छ। यस्तो सेवा अशक्त बुवा आमाहरूको लागि घरमै उपलब्ध गराइने छ।
५. जनताको घर दैलोमा पालिका प्रमुख कार्यक्रम संचालन गरिने छ। यस कार्यक्रम अन्तर्गत महिनाको एक दिन पालिका प्रमुखले वडाका जनतासँग प्रत्यक्ष भेटघाट गरि जनताका गुनासो सुन्ने र सुझाव लिने जस्ता अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने व्यवस्था मिलाइने छ। नवजात शिशु जन्मेको परिवारमा सुत्केरीको हेरचाह तथा पोषणलाई विशेष महत्त्व दिनुपर्ने सन्देश दिन रु.३०००/ आमा बच्चा पोषण भत्ता दिने कार्यक्रम सुरु गरिने छ। आर्थिक तथा सामाजिक रुपले पछाडि परेको परिवारलाई मृत्यु संस्कारका निमित्त रु.५०००/ दिने व्यवस्था मिलाइने छ।
६. क्यान्सर, टाउको, मुटु, फोक्सो,कलेजोको उपचार तथा दुर्घटना अंगभंग जस्ता जटिल र खर्चिला उपचारमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई स्वास्थ्य बिमा तथा सरकारले दिने अनुदानले नपुगेको अवस्थामा सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराएको एक लाख रुपैयाँ सम्म अस्पतालको बिल बमोजिमको रकम भुक्तानी गरिदिने व्यवस्था मिलाइने छ। महिलाहरुमा हुन सक्ने पाठेघर, स्तन क्यान्सरको परिक्षण वर्षमा एक पटक पालिका भित्रै विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने व्यवस्था गरिने छ।
७. लामाखर्क, झमादी र ओखलढुंगालाई पायक पर्ने गरि एउटा सामुदायिक स्वास्थ्य इकाई निर्माण गरिने छ। उक्त स्वास्थ्य इकाइले अशक्त बुबा आमाहरूलाई घरमै गएर स्वास्थ्य जाँचको व्यवस्था मिलाइने छ साथै हामीले एउटा " नमुना बृद्द्बृद्दा स्याहारसुसार तथा मनोरंजन केन्द्र" स्थापना गरि संचालन गरिने छ।
खानेपानी
१. सबै घर धुरीमा " एक घर एक धारा" पुर्याइने छ। वर्षमा कम्तीमा तीन पटक वितरित खानेपानीको गुणस्तर जाँच्ने व्यवस्था मिलाइने छ।
२.खानेपानीका मुहानको संरक्षण गरिने छ।
३. लिफ्टिङ्ग खाने पानीको बिजुलीको निश्चित महशुल गाउँपालिकाले भुक्तानी गरि उक्त अनुदान समानुपातिक रुपमा उपभोक्ताले पाउने व्यवस्था मिलाइने छ।
कृषि उत्पादन तथा बजारीकरण
१. भु- उपयोग नीति लागू गरि कृषियोग्य भुमिको संरक्षण तथा व्यवसायिक कृषि गर्न प्रोत्साहन हुने गरि चक्लाबन्दीमा सुलभ(अनुदान दिई) जमिन उपलब्ध गराइने छ।
२. प्रत्येक वडामा कम्तिमा एउटा ब्यवसायिक कृषि फर्म स्थापना गर्न जमिनसम्म बाटो, सिँचाइ, पुर्वाधार, मलबिउ, उपकरण, कृषि प्रसारसेवा, भान्डारण, प्रशोधन तथा विक्रीवितरण जस्ता उत्पादनदेखि बजारीकरणसम्मका सबै चरणमा किसानलाई सहयोग पुर्याइ उत्पादन तथा रोजगारी सिर्जना गरिने छ। यस्ता फर्महरुबाट कम्तिमा ३०० जनलाई रोजगार गाउँमै सिर्जना गर्ने योजना बनाइएको छ।
३. कृषि उत्पादन र बिक्रिका आधारमा कृषकहरूलाई प्रोत्साहन स्वरुप अनुदान (देश विदेश) भ्रमण र उचित सम्मानको व्यवस्था गरिने छ।
४.कृषि तथा पशुपालन व्यवसाय संचालन गरेका फर्महरुलाई त्यसले सिर्जना गरेको रोजगारीको आधारमा विशेष सुबिधा प्रदान गरिने छ।
५. बढी उब्जनी हुने बेशीका चौर, याडुङ्ग, बोहा रुद्रवेणी,टाहाटिम, घ्युवेशी फाँटहरुमा सिँचाई कुलो या लिफ्टिङ्ग सिंचाइको व्यवस्था मिलाइने छ।
६.उत्पादित कृषि उपज भण्डारणको निमित्त शीत भण्डारको निर्माण गरिने छ।
७. कृषकहरूलाई बालिनाली तथा फलफूल ,तरकारी बैज्ञानिक रुपमा टिप्ने तथा भण्डारण गर्न सिकाइने छ।
८. आफ्ना उत्पादन आफै बिक्री गर्न चाहाने किसानलाई बुटवलमा एक बिक्रि केन्द्रको व्यवस्था मिलाइने छ। साथै देशका विभिन्न ठाउँमा हुने कृषि मेला तथा प्रदर्शनीमा भाग लिने किसानहरूलाई सहुलियत दिइने छ।
९. बाँदर लगायत जंगली जनावरबाट बालिनाली जोगाउन सबै बाँदरलाई निश्चित वनमा मात्र राख्ने गरि व्यवस्था गर्न तथा किसानको बालिनाली नष्ट गरेमा जुनसुकै तरिकाबाट नियन्त्रण गर्न किसानलाई अधिकार दिलाउनका लागि सरकारलाई दवाब दिन तत्काल पहलकदमी लिइने छ।
१०. उखु तथा अन्य उत्पादित बस्तुको प्रशोधन, विक्री तथा बजार प्रवर्द्धन प्रोत्साहन गरिने छ। उखु उत्पादक किसान समूह या सहकारी चक्लेट या अर्गानिक खैरो चिनी उत्पादन गर्न प्रोत्साहन गरिने छ।
११. पिछडिएको जाति माझी तथा बोटेहरुको परम्परागत जिबिकोपार्जन सहज बनाउन कार्यक्रम सुरु गरिने छ। कालीगण्डकी, बढिघाट, रिडिखोला आदिमा माछाको भुरा छाडेर परम्परागत माछा मार्ने व्यवसायलाई टेवा पुर्याइने छ।
पुर्वाधार विकास
१. रुद्रवेणी-रिमुवा- काउले-बलेटक्सार पहुँच मार्गलाई स्तर उन्नति गरिने छ।
२. रिडि रातामाटादेखि कफि अनुसन्धान केन्द्र भण्डारी डाडा-"चौतारा-काउले-बगाउने बाटोलाई कृषि पर्यटन सडक करिडोर रुपमा कालोपत्रे गर्न प्रदेश तथा केन्द्रमा सिफारिस गरि बजेट माग गरिने छ।
३. रानिबास- टाहाटिम कालोपत्रे गर्न पहल गरिने छ। घ्युवेशी- रिमुवा, चौतारा ग्वादी र ग्वादी रिडि बाटो बाह्रैमास चल्न योग्य बनाई क्रमश स्तर उन्नति गरिने छ।
४. बलेटक्सार रिङरोड पूरा गर्न थप पहल गरिने छ।
५. पुलक्याप्प-याडुङ-बेशिका चौर ग्वादी बाटो पूरा गरिने छ।
६. माधा भरेक रुद्रवेणी सडकको स्तर उन्नति गरिने छ।
७.आमपोखरा- लामखर्क- झमादी र ओखलढुंगाको बाटो व्यवस्थित गरिने छ।
८. पालिका भित्रको कुनै पनि बाटो वर्षायाममा बन्द हुन गए तत्काल खोलेर एम्बुलेन्स, पशुआहार तथा दुग्धपदार्थको ढुवानी नरोकिने व्यवस्था मिलाइने छ।
९. फलाटे- भट्कुवा, बम्घा काउले-टाहाटिम झोलुङ्गे पुल सम्भाब्यता अध्ययन गरिने र गोलपोखरी -बेशीकाचौर झोलुङ्गे पुल निर्माण गरिने छ।
१०. ठुला भारी उपकरणको प्रयोग नगरी पालिका भित्र कम्तिमा एउटा वातावरण मैत्री नमुना सडक निर्माण गरिने छ।
युवा तथा खेलकुद
१. रिडि र घ्युवेशी खेलमैदानलाई स्तर वृद्धि गरि जिल्ला तथा क्षेत्रस्तरीय खेलकुद कार्यक्रम संचालन गर्न योग्य बनाइने छ।
२. हरेक विद्यालयका खेलमैदानहरुलाई क्रमश स्तर वृद्धि गरिने छ।
३. पालिकास्तरीय खेलकुद प्रतियोगितामा।अब्बल खेलाडीलाई विधा अनुसार केन्द्रमा तालिम तथा प्रशिक्षणको अवसर उपलब्ध गराइने छ।
४. प्रत्येक वडा स्तरीय खेलकुद क्लबहरुलाई खेल सामाग्री उपलब्ध गराइने छ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन
१. रिडि, रुद्रवेणी,बम्घाकोट र श्रृङ्गेश्वर धार्मिक तथा ऐतिहासिक स्थलहरुको एकीकृत पर्यटकीय प्याकेज प्रवर्द्धन गर्न होटल तथा पर्यटन व्यवसायीलाई प्रोत्साहन गरिने छ। ती स्थान विशेष चाड पर्वका पर्यटकीय मेलाको आयोजना गरिने छ।
२.रुरुक्षेत्रका विशेष चार ठाउँ जाउँ कार्यक्रम संचालन गरिने छ।
३.कालीगण्डकी, बडिघाट, रिडि खोला तालखोला र अन्य खोलाहरुमा फोहोर विसर्जन दण्डनीय बनाइने छ फोहोरको बैज्ञानिक व्यवस्थापनको कार्यक्रम सुरु गरिने। त्यसरी गरिएको फोहोर व्यवस्थापनको शुल्क फोहोर गर्नेले नै तिर्नुपर्ने व्यवस्था गरिने छ।प्राकृतिक वातावरणको संरक्षण र उपयोग नीति बनाई कार्यान्वयन गरिने छ।
४.रिडि, तालदोभान(पुल्क्याम्प) तथा रुद्रवेणी घाटहरुमा व्यवस्थित शवदाहगृह बनाइने छ र विद्धुतिय शवदाहगृहको निर्माणका लागि केन्द्रमा पहल गरिने छ।
५. रिडि, बलेटक्सार, रानिबास जस्ता बजार क्षेत्रहरुमा नियमित रुपमा सरसफाइ स्वयंसेवि अभियानको थालनी गरिने छ।
६ " मेरो जन्मभुमि मेरो दायित्व " कार्यक्रम संचालन गरिने छ। यश रुरुक्षेत्र गाउँपालिका भित्र जन्मी हाल देश विदेशमा रहनु भएका इन्जिनियरिङ्ग,स्वास्थ्य, कृषि, व्यवस्थापन, प्रशासन, उद्यमशिलता, पर्यटन, कानुन,वातावरण, खेलकुद, कलासंस्कृती, पुरातात्त्विक जस्ता क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञ महानुभावलाई गाउँपालिकाको सर्वाङ्गिण विकासका लागि उहाँहरुको विशेषज्ञिय सेवा स्वयंसेवकको रुपमा निश्चित समयावधि पालिकामा सेवा दिन आह्वान गरिने छ। इच्छुक महानुभावलाई पालिकामा त्यसरी नै सेवा दिने उपयुक्त वातावरण मिलाइने छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology