काठमाडौँ । ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका तुल्सी अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरी स्वदेश फर्काएको छ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका-६ स्थायी घर भई हाल ललितपुरको भैंसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत खोजी जारी गरिएको थियो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा २०८२ चैत ३ मा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको थियो।
प्रहरीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अधिकारीमाथि चार करोड ५० लाख ठगी गरेको आरोप छ । यस सम्बन्धी मुद्दा प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा दर्ता गरिएको थियो ।
रेड कर्नर जारी भएपछि इन्टरपोल शाखा काठमाडौँले निरन्तर अन्तर्राष्ट्रिय समन्वय गर्दै अधिकारीको खोजी कार्य अघि बढाएको थियो । सोही क्रममा उनलाई थाइल्याण्डबाट पक्राउ गरि थाई वायुसेवामार्फत शनिबार राति ११: ४५ बजे नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल ल्याइएपछि इन्टरपोल शाखा काठमाडौँले अधिकारीलाई थप कानुनी कारबाहीका लागि ललितपुरबाट खटिएका प्रहरी कर्मचारीको जिम्मा लगाएको छ । प्रहरीले उनीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology