देवदह । देवदह नगरपालिका–१० स्थित सीता माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय, मेरो दायित्व’ कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालयको समग्र सुधारका लागि उत्तरदायी प्रणालीको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको उद्देश्यबारे बोल्दै विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीले सामुदायिक विद्यालयको सुधार, शैक्षिक गुणस्तर वृद्धि, स्रोत पहिचान तथा परिचालन र सरोकारवालाको सक्रिय सहभागिता बढाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए ।
'शिक्षामा सबैको पहुँच र सहभागिता सुनिश्चित गर्दै गुणस्तरीयता अभिवृद्धि गर्ने तथा सरोकारवालामा विद्यालयप्रति अपनत्व र जिम्मेवारी बोध गराउन कार्यक्रम आयोजना गरिएको हो' अधिकारीले भने ।
देवदह नगर कार्यपालिका सदस्य कुमार परियारले सामुदायिक विद्यालयको गुणस्तर सुधार सरकारको मात्र नभई स्थानीय समुदाय, अभिभावक र सरोकारवालाको साझा जिम्मेवारी भएको बताए । विद्यालयलाई प्रविधिमैत्री, अनुशासित र गुणस्तरीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा वडा सदस्य रेनुका आले मगर, भवी थापा, जनप्रिय माध्यमिक विद्यालयका प्राचार्य गायत्रीप्रसाद खरेल, चरङ्गे भूमिगत खानेपानी संस्थाका सचिव खेम पुन, सुरेश राना लगायतले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि सामूहिक सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालयको समन्वयमा आयोजित कार्यक्रम प्रधानाध्यापक उमाकान्त अधिकारीको अध्यक्षता तथा पुरुषोत्तम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology