पोखरा । पोखरा महानगरको सार्वजनिक यातायातलाई आधुनिक, व्यवस्थित र दिगो बनाउने विषयमा सरोकारवाला निकायबीच सार्वजनिक–निजी संवाद भएको छ । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा आर्थिक आवाजको साझेदारीमा आयोजित कार्यक्रममा ‘स्मार्ट तथा दिगो यातायात’ विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला र नेपाल एटोमोवाईल एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईबीच छलफल भएको हो ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले दिगो सहरी यातायात व्यवस्थापन तथा विद्युतीय सवारी प्रवर्द्धनका लागि एशियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा नेपालले १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण प्राप्त गरेको जानकारी दिए । उक्त रकममध्ये ४० मिलियन अमेरिकी डलर पोखरामा लगानी गरिने उनले बताए ।
उनका अनुसार परियोजनाले पोखराको सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउनेछ । पोखरालाई पर्यटन राजधानी घोषणा गरिएपछि यातायात व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्दै इमोबिलिटी परियोजना अघि बढाइएको उनले बताए ।
परियोजनाअन्तर्गत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने, चार्जिङ केन्द्र स्थापना गर्ने, सार्वजनिक यातायात सेवाको डिजिटल प्रणाली विकास गर्ने तथा व्यवस्थित बस बिसौनीलगायत आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
छलफलका क्रममा सहभागीहरूले पोखराको यातायात क्षेत्र सुधारका लागि सरकारी निकाय, निजी क्षेत्र तथा यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले इमोबिलिटी परियोजनाले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय, आधुनिक र दिगो प्रणालीमा रूपान्तरण गर्दै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology