काठमाडौँ । सरकारले विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म एक हजार २०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वैशाख ३ गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्यासम्बन्धी जानकारी सार्वजनिक गर्दै आएको छ । पोर्टलको उद्देश्य विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
पोर्टलमा अद्यावधिक विवरणअनुसार देशभरका अस्पतालमा कुल २३ हजार ४५६ शय्या उपलब्ध छन् । त्यसमध्ये १० प्रतिशत अर्थात् दुई हजार ३५६ शय्या निःशुल्क उपचारका लागि छुट्याइएका छन् । हाल ३५४ निःशुल्क शय्यामा बिरामी उपचाररत रहेका छन् भने दुई हजार दुई शय्या अझै खाली रहेका छन् ।
पोर्टलमा अस्पतालअनुसार उपलब्ध कुल शय्या, निःशुल्क शय्या, प्रयोगमा रहेका शय्या तथा बाँकी शय्याको विवरण वास्तविक समयमै अद्यावधिक हुने व्यवस्था गरिएको छ । मन्त्रालयले आगामी दिनमा अस्पतालका अन्य सेवासम्बन्धी जानकारी समेत यसै प्रणालीमार्फत उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधान र कानूनले व्यवस्था गरेका स्वास्थ्य सुविधाबाट लक्षित वर्गलाई वञ्चित हुन नदिन पोर्टल सञ्चालनमा ल्याइएको बताइन् । उनका अनुसार विगतमा निःशुल्क सेवाको पहुँच अस्पतालको इच्छामा निर्भर रहने अवस्था रहेको थियो ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ । साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार निःशुल्क उपचारलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउन अनलाइन प्रणाली विकास गरिएको हो । कार्यविधि लागू भएपछि निःशुल्क सेवाको दायरा र प्रक्रिया स्पष्ट भएको उनले बताए ।
कार्यविधिअनुसार लक्षित वर्गका बिरामी भर्ना भएका निःशुल्क शय्यामा अस्पतालले उपलब्ध गराउने सम्पूर्ण सेवा निःशुल्क दिनुपर्नेछ । साथै, निःशुल्क शय्यासम्बन्धी जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सार्वजनिक रूपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले पोर्टलको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि छ वटा समिति गठन गरी देशका ११ वटा सङ्घीय अस्पतालमा परिचालन गरेको जनाएको छ ।
निःशुल्क स्वास्थ्य पोर्टल यहाँबाट प्रयोग गर्न सकिन्छ : https://freehealth.mohp.gov.np/
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology