काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
उद्योग–व्यवसाय क्षेत्रको विकास, निजी क्षेत्रको प्रभावकारी नेतृत्व, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अध्यक्ष पोखरेललाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा उद्योग, व्यापार, वित्त, बैंकिङ तथा विभिन्न पेशागत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सम्मान ग्रहणपछि अध्यक्ष पोखरेलले अवार्ड सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, चेम्बर परिवार तथा लुम्बिनी प्रदेशका निजी क्षेत्रप्रति समर्पित रहेको बताए । उनले निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवर्द्धन र आर्थिक समृद्धिका लागि आफ्नो प्रतिबद्धता अझ मजबुत भएको प्रतिक्रिया दिए ।
कर्पोरेट बिजनेस म्यागजिनले प्रत्येक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology