माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न.४ मा हेल्प डेस्क संचालनमा आउने भएको छ। वडा अध्यक्ष पदमा नवनिर्वाचित वडा न.४ का वडा अध्यक्ष मोतिप्रसाद श्रेष्ठले पद भार ग्रहण गर्दै जनताको कामलाई सहज र सरल तरिकाले सम्पन्न गर्नको लागि हेल्प डेस्क संचालन गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
त्यस्तै जनतालाई सुचना प्रवाहको लागि वडाको आधिकारिक फेसबुक पेज पनि खोलिने र त्यसै पेज मार्फत वडाबाट गरिने कार्यक्रम, सुचना लगायत हरेक गतिविधिलाई सबै जनतामाझ पुर्याउने निर्णय पनि श्रेष्ठले गरेका छन् ।
श्रेष्ठ गत स्थानीय निकायको चुनावमा सोही वडाको वडा सदस्य पदमा निर्वाचित भएका थिए। विगतका दिनमा यस वडाबाट जनतालाई प्रदान गर्नुपर्ने सेवा सुविधामा भएका केही त्रुटिलाई सच्याउँदै त्यस्ता खाले समस्या अब आफ्नो कार्यकालमा हुन नदिने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
विगत ५ बर्षदेखि नै आफू वडा न.४ का प्रत्येक जनता सङ्ग घुलमिल भएको र उनीहरुका समस्या बारे जानकार रहेको बताउँदै उनले अब ती समस्याको समाधान गर्न कुनै कसुर बाकी नराख्ने पनि बताएका छन् । विकास निर्माणका हरेक क्रियाकलाप पारदर्शी गराउने र सेवा सुविधा प्रवाहमा कसैलाई पनि भेदभाव नगरिने प्रतिबद्धता उनले गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology