काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धि अभिव्यक्ति ठिक हो भने संसदमा अभिव्यक्ति दिन चुनौती दिएकी छन् ।
विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति रास्वपा सांसद मौन बसेको भन्दै यो मौनता इतिहासको अभिलेखमा दर्ता हुने बताएकी हुन् ।
उनले भनिन्- 'प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ ? । राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन ? केही दल, केही नेतागत निष्ठा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्यो ? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लखिनेछ । त्यसैले सम्झनुहोस्, आज तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ता हुँदैछ । भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ ।’
सांसद ओलीले सरकारले आफूहरूको संयमता कमजोरी ठानेको बताउदै प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार नहुने र त्यसलाई सदनमै आएर जवाफ दिनुपर्ने माग गरिन । साथै उनले आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी नभई उत्तरदायित्वको उदाहरणको रूपमा स्थापित हुने बताइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology