देवदह । रुपन्देहीको देवदहस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा इन्ट्रा कलेज कोडिङ (एचटीएमएल/सीएसएस) प्रतियोगिता सम्पन्न भएको छ । कलेजको स्वर्णिम आईसीटी क्लबले शुक्रबार आयोजना गरेको प्रतियोगितामा कक्षा ११ का १८ जना विद्यार्थी सहभागी भएको जनाइएको छ ।
विद्यार्थीहरूमा प्रोग्रामिङ तथा वेब डेभलपमेन्टप्रति रुचि अभिवृद्धि गर्ने, प्राविधिक क्षमता, सिर्जनशीलता र समस्या समाधान गर्ने सीप विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
साथै, प्रतिस्पर्धात्मक वातावरणमा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ह्याकाथन लगायतका प्रतियोगितामा सहभागी हुन सक्ने दक्ष जनशक्ति तयार गर्ने लक्ष्य रहेको बताइएको छ ।
प्रतियोगिता सुरु हुनुभन्दा १० मिनेटअघि सहभागीहरूलाई वेबसाइट डिजाइन टेम्प्लेट उपलब्ध गराइएको थियो । त्यसपछि निर्धारित समयभित्र एचटीएमएल र सीएसएस प्रयोग गरी सोही डिजाइनलाई कोडिङ गर्न लगाइएको थियो ।
प्रतियोगीहरूले तयार गरेका परियोजनाको डिजाइन शुद्धता, सफा कोडिङ तथा समग्र कार्यसम्पादनका आधारमा आईटी क्लब संयोजक दिपेश विक्रम मल्लले मूल्याङ्कन गरेका थिए । प्रतियोगिताको उद्देश्य तथा व्यावहारिक कोडिङको महत्वबारे पनि उनले सहभागीहरूलाई जानकारी गराएका थिए ।
प्रतियोगितामा प्रिन्स पाण्डे प्रथम, विवेक खरेल द्वितीय तथा आयुष गुरुङ र हेमन्त गिरि संयुक्त तृतीय भएका छन् ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल, सह–प्राचार्य प्रदीप अधिकारी, प्लस टु संयोजक तथा आईटी क्लब संयोजक दिपेश विक्रम मल्ल, बिबिएस संयोजक बिमल तिवारी र ईसीए संयोजक कृष्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
स्वर्णिम आईसीटी क्लबका अध्यक्ष सुशान्त न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव रबिन अधिकारीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology