काठमाडौँ । युक्रेनले शनिबार बिहान रूसका विभिन्न क्षेत्रमा ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । रूसी अधिकारीहरूका अनुसार मस्कोको दक्षिण-पूर्वस्थित ताम्बोभ क्षेत्रको कोतोभ्स्क सहरमा रहेको एक सामान भण्डारण तथा वितरण केन्द्रमा भएको आक्रमणमा सात जना कर्मचारीको मृत्यु भएको छ भने २४ देखि २५ जना घाइते भएका छन् ।
ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पेर्भिशोभका अनुसार आक्रमण रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनीको स्वामित्वमा रहेको गोदाममा भएको हो। उनका अनुसार मृत्यु हुने सबै कर्मचारी रातिको पालोमा कार्यरत थिए । गभर्नर पेर्भिशोभले रूसी हवाई प्रतिरक्षा प्रणालीले लक्ष्यमा पुग्नुअघि २८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेका छन्। उनका अनुसार ती सबै ड्रोन लक्ष्यमा पुगेका भए नागरिक क्षति अझ धेरै हुन सक्थ्यो ।
यसैबीच अर्को ड्रोन आक्रमणका कारण मस्को क्षेत्रको नोगिन्स्क सहरस्थित एक इन्धन भण्डारण केन्द्रमा आगलागी भएको छ। मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार ड्रोनको भग्नावशेष खस्दा आगो लागेको हो। उक्त घटनामा दुई जना घाइते भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नजिकै रहेको प्रसूति अस्पताल खाली गराइएको छ। इन्धन भण्डारण केन्द्रमा भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
रूसी अधिकारीहरूका अनुसार उक्त केन्द्रमा पेट्रोल, डिजेल र मट्टितेल भण्डारण गरिन्थ्यो। त्यहाँ २४ वटा भण्डारण ट्याङ्की रहेका छन्, जसको संयुक्त क्षमता करिब ११ हजार ५०० घनमिटर रहेको बताइएको छ। कोतोभ्स्कस्थित सामान भण्डारण केन्द्रमा लागेको आगो नियन्त्रणमा आइसकेको रूसी अधिकारीहरूले जनाएका छन्। घटनास्थलमा उद्धार तथा राहत कार्य भने जारी रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology