काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' ले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटका तस्वीर सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै उनले समय अनुकुलताका कारण कसैसँग पहिले र कसैसँग पछि भेट भएको भन्दै भेटघाटको शिलशिला निकै पछिसम्म पनि रहिरहने बताएका छन् ।
सामाजिक संजालमा लेख्दै उनले भनेका छन् - "केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ; आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।"
आफ्ना लक्ष्यहरु विशाल र पवित्र भएको उल्लेख गर्दै उनले आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता रहेको औंल्याएका छन् । यसका लागि सबैसँग सहकार्य अनिवार्य भएको उनको भनाइ छ ।
उनले स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै नरहने उल्लेख गर्दै सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्ने बताएका छन् ।
उनले लेखेका छन् - "काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology