काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ चीनको ग्वाङ्झाउमा सुरु भएको छ। ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।
ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा गैरआवासीय नेपाली संघका संस्थापक र अग्रज नेतृत्वको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाल र एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप मजबुत बनाउने तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने विषयमा छलफल हुनेछ । संघको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषय पनि सम्मेलनको प्रमुख प्राथमिकतामा रहेको छ ।
सम्मेलनमा व्यापार, लगानी तथा ढुवानी क्षेत्रमा रहेका अवसर, एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगारी तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार र पर्यटन प्रवर्द्धनका विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण, सीमापार मानव बेचबिखन नियन्त्रण तथा नेपालको लगानी र पर्यटन प्रवर्द्धनमा प्रवासी नेपालीको भूमिकाबारे पनि छलफल हुनेछ। गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।
महिला तथा युवा सत्रमा महिला उद्यमशीलता, नेतृत्व विकास तथा दोस्रो पुस्ताका नेपालीको पहिचान, सहभागिता र विश्वव्यापी सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। संघको संस्थागत पहिचान र प्रचारलाई थप बलियो बनाउँदै नयाँ पुस्तासँग जोड्ने विषयमा पनि छलफल गरिनेछ।
सम्मेलनका विभिन्न सत्र सम्पन्न भएपछि आगामी १६ अगस्टमा ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गरिनेछ। घोषणापत्रमा सम्मेलनमा उठेका प्रमुख विषय, नीति र प्राथमिकता समेटेर नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष सुझाव र माग प्रस्तुत गरिनेछ।
सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिका लागि चीनको गुआङ्डोङस्थित प्रसिद्ध गुलोङ्सिया प्राकृतिक क्षेत्रमा अवलोकन भ्रमणको कार्यक्रम राखिएको छ।
सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा रहेका नेपाली समुदायबीचको एकता र सहकार्य थप मजबुत बनाउँदै नेपालको आर्थिक विकास, लगानी, पर्यटन, ज्ञान तथा सीप हस्तान्तरण र सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology