देवदह । देवदहस्थित केरवानी माध्यमिक विद्यालयमा कक्षा-११ मा अध्ययनरत नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यालयमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा सहभागी वक्ताहरूले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नरही व्यवहारिक तथा बाहिरी ज्ञान हासिल गर्दै अनुशासनका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक हरि अर्यालले विद्यार्थीहरू विद्यालयमा पढ्नका लागि मात्र नभई सिक्नका लागि आउनुपर्ने बताए । उनले समयअनुसार अध्ययन गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै फरक ढङ्गबाट सिक्ने बानी विकास गर्न सके जीवनका हरेक खुड्किला पार गर्न सहज हुने धारणा व्यक्त गरे ।
‘विद्यालयमा विद्यार्थीका लागि मनदेखि मष्तिष्कसम्म जोडिने व्यवहार हुनुपर्छ ।’ भन्नेमा जोड दिँदै अर्यालले शिक्षालाई केवल परीक्षा र अंकसँग मात्र जोड्न नहुने बताए । विद्यार्थीको व्यक्तित्व विकास, सोच्ने क्षमता र व्यवहारिक ज्ञान अभिवृद्धि गर्न विद्यालयको वातावरण महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गणेश डुम्रेले विद्यार्थीलाई अनुशासित भएर अध्ययन गर्न आग्रह गरे । उनले नियमित अध्ययन, अनुशासन र निरन्तर मेहनतले विद्यार्थीलाई भविष्यमा आफ्नो लक्ष्यमा पुग्न सहयोग गर्ने बताए । विद्यालय जीवनमा सिकेको अनुशासन र संस्कारले भविष्य उज्याले बनाउन महत्वपूर्ण भूमिका खेल्ने डुम्रेले उल्लेख गरे ।
सोही अवसरमा युगज्योति माध्यमिक विद्यालय, देवदह-६ का प्रधानाध्यापक यमलाल अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र पाण्डे, शिक्षक कृष्ण ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूले आफू र आफ्नो विद्यालयको नाम सधैँ उच्च राख्ने विश्वास व्यक्त गरे ।
वक्ताहरूले कक्षा ११ र १२ लाई सामान्य वा सानो कक्षाका रूपमा लिन नहुनेमा जोड दिएका थिए । माध्यमिक तहको अन्तिम चरणका रूपमा रहेको कक्षा ११ र १२ मा विद्यार्थीले आफ्नो भविष्यको आधार तयार गर्ने भएकाले अध्ययनलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा उनीहरूको जोड थियो ।पढाइलाई पाठ्यपुस्तकमा रहेका विषयवस्तुमा मात्र सीमित नराखी समाज, प्रविधि, विज्ञान, समसामयिक विषय तथा जीवनोपयोगी सीपसँग जोडेर अध्ययन गर्न वक्ताहरूले विद्यार्थीलाई सुझाव दिएका थिए । बाहिरी संसारबाट प्राप्त ज्ञानले विद्यार्थीको दृष्टिकोण फराकिलो बनाउने र बदलिँदो समयसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने उनीहरूको धारणा थियो ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको कार्यक्रममा नयाँ विद्यार्थीलाई विद्यालय परिवारमा आत्मीय रूपमा स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो । सहभागिहरुले विद्यार्थीलाई नयाँ शैक्षिक यात्रामा आत्मविश्वास, अनुशासन र सकारात्मक सोंचका साथ अघि बढ्न प्रेरित गर्दै उनीहरूको सफल भविष्यको कामना गरिएको थियो ।
भरत रसाइलीको अध्यक्षता प्रधानाध्यापक निर्मल ढुंगानाको स्वागत र शिक्षक यज्ञप्रसाद न्यौपाने तथा नुनुमाया सार्कीको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology