भनिन्छ - "गिद्द जति नै उचाइमा उडेपनि उस्को आखा सिनो मै हुन्छ ।" ठिक त्यस्तै नेपाली राजनीतिका राजनीतिज्ञहरु राज्यको जति नै उच्च र सम्मानित स्थानमा पुगेपनि उनीहरुको नजर कमिसन मै हुन्छ । यो आज मात्र होइन, बर्षौंदेखि हाम्रा नेताहरुले प्रमाणित गर्दै आएका छन् ।
भुकम्पकालको त्रीपाल र जस्तापाता काण्ड होस वा कोभिड प्रथमको ओम्नि लगायतका काण्डहरु र अहिले आएर खोपकाण्ड होस या सत्ता टिकाउन र गिराउन गरिएका पछिल्ला सकुनी ताण्डवहरु यी सबै जननिर्वाचित राजनीतिज्ञहरुले आफ्नो स्वार्थका लागि निर्दोष जनताको छातिमा लात बजारेका ताजा दृष्टान्तहरु हुन् ।
आज कोभिडले जनजीवन दिनानुदिन जटिल बन्दै गैरहेको छ । अस्पतालमा बेड छैनन्, अस्पतालको पेटिमै बसेर उपचारको पालो कुर्नकै लागि पनि एम्बुलेन्स छैन । एम्बुलेन्स त परको कुरा भैसक्यो । कतिपय अवस्थामा ट्र्याक्टरमा बिरामी बोकेर अस्पतालको गेटसम्म नपुग्दै बाटोमै बिरामीले मृत्युवरण गरेका घटनाहरु समेत बाहिरीएका छन् । अस्पतालको प्रांगणमा छट्पटीएर ज्यान गुमाएका कारुणिक दृश्यहरु छरपस्ट छन । के राज्यको बागडोर समालिरहेकाहरुलाइ यी सारा घटनाले अलिकति पनि छुँदैन ? के यी सारा मृत्युहरु राज्यको नालायकीपनका कारण भएका होइनन् ? यी मृत्युलाई मृत्यु नभनेर बिबेकहिन राज्यसंयन्त्रले गरेको हत्या हो भनेर किन नभन्ने ? र, राज्यको बागडोर समालेकाहरु उक्त हत्यामा सजायको भागेदार हुनुपर्दैन ?
सरकार, राज्य संयन्त्रका सम्पुर्ण निकाय र राजनीतिक दलहरु, महामारीलाई करोडौं कमाउने मौका नसोंच । आज हरिबहादुरलाई लैजाने महामारीले के भोलि तिमी र तिम्रा आफन्तजनलाई छोड्ला ? जायज-नाजायज सेटिङ्गमा राजनीति गर्न र राज्य चलाउन माहिर तिमिहरु के आफ्नै घरमा महामारीले काम तमाम गर्दैगर्दा त्यसलाई २-४ सय बिटाले तह लगाउन सकिन्छ भन्ने ठानिरहेका छौ ?
यदि त्यसो होइन र अलिकति पनि मानवीयता कहिँकतै ज्युँदै छ भने ढिलो नगरौं । सबै ट्याक्सी-कार र सरकारी-निजि साना गाडि एम्बुलेन्सको रुपमा प्रयोग गर ! सबै निजि स्कुल/कलेज, पार्टी कार्यालय र सामाजिक संस्थाका भवन अस्पतालको रुपमा प्रयोग गर। रिटायर र मेडिकल साइन्स पढ्दै गरेका सबै स्वास्थ्य जनशक्तिलाई काममा खटाउ । औंषधी, अक्सिजन र भेण्टिलेटरको लागि के-के गर्नुपर्छ, त्यो गर । सरकार, विवेक नगुमाउ, कमिसनको चक्करमा नागरिक नमार !
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology