लुम्बिनी । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीका कारण रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्जले खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सिंगो नेपाल एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा र नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीका कारण पिडितहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको लागि एकजुट हुन आग्रह गरेका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा रसुवासँगै नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रहरू समेत जोखिममा रहेको उल्लेख गर्दै सम्भावित थप क्षतिबाट नागरिकलाई सुरक्षित राख्न राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्तिमा दुःखद् र विपद्को यस घडीमा राजनीतिक आग्रह, पूर्वाग्रह तथा दलगत स्वार्थभन्दा माथि उठेर सरकारको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी योजना र कार्यलाई लुम्बिनी प्रदेशका पार्टी पंक्तिले एकजुट भएर हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यस्तै, सबै राजनीतिक दल, जनप्रतिनिधिमूलक निकाय, संघसंस्था तथा आम नागरिक समाजलाई समेत विपद्पीडितको सहयोगका लागि हातेमालो गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमार्फत लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई केन्द्रीय विपद् राहत कोषमा यथासक्य छिटो आर्थिक सहयोग उपलब्ध गराउन पनि आग्रह गरिएको छ । साथै, उक्त घटनामा ज्यान गुमाएका लुम्बिनी प्रदेशका नागरिकका परिवारलाई आवश्यक राहतको व्यवस्था गर्न तथा बेपत्ता र प्रभावित नागरिकको खोजी तथा उद्धार कार्यमा विशेष पहल लिन प्रदेशको सम्पूर्ण संयन्त्र परिचालन गर्न अनुरोध गरिएको छ ।
नेताद्वय विश्वकर्मा र खनालले विपद्को घडीमा मानवीयता, सहकार्य र राष्ट्रिय एकताको भावना प्रदर्शन गर्दै पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्ष जिम्मेवार ढंगले जुट्नुपर्ने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology