रुपन्देही । ग्रिनप्लान्ट आवासीय मावि देवदहले भोटेकोशी बाढी प्रभावितको लागि १ लाख ३ हजार आर्थिक सहयोग गरेको छ । भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा १ लाख ३ हजार ७५ रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले विद्यार्थीबाट स्वैच्छिक रूपमा संकलन भएको १७ हजार ७५ रुपैयाँ तथा शिक्षक तथा कर्मचारीबाट संकलित ८६ हजार रुपैयाँ गरी कुल १ लाख ३ हजार ७५ रुपैयाँ राहत कोषमा जम्मा गरेको प्रिन्सिपल राजिव सापकोटाले जानकरी दिए ।
सापकोटाका अनुसार शिक्षक तथा कर्मचारीबाट संकलन गरिएको रकममध्ये यस वर्ष विद्यालयका पुरुष शिक्षकहरूको आयोजनामा हुने दर कार्यक्रम तथा महिला शिक्षकहरूले आयोजना गर्ने तिहार विशेष कार्यक्रम नगर्ने निर्णय गरी त्यसबाट बचत हुने रकमसमेत राहत कोषमा जम्मा गरिएको हो ।
विपद्को समयमा बाढी प्रभावित परिवारको राहतका लागि विद्यालयले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले कार्यक्रमहरूमा खर्च हुने रकमसमेत राहत कोषमा पठाइएको सापकोटाले बताए ।
‘हामीले विद्यार्थीहरूबाट अनिवार्य रकम उठाएका होइनौं, स्वेच्छिक रूपमा उनीहरुले सहयोग संकलन गरेका हुन् ।’ प्रधानाध्यापक सापकोटाले भने, ‘विद्यार्थीकोहरु यसरी स्वतस्फुर्त रुपमा यस्ता राहतका कार्यक्रममा जोडिदा उनीहरुमा सहयोग र मानवियताको भावना विकास हुने हामिले अपेक्षा गरेका छौं ।’
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, स्थानीय तह, विद्यालय तथा नागरिकस्तरबाट राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम चलिरहेको छ ।
विद्यालय परिवारले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै अन्य व्यक्ति तथा संस्थाहरूलाई समेत आफ्नो क्षमता र स्रोतअनुसार राहत तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology