देवदह । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल मगर संघ, देवदह नगर समितिले आर्थिक सहयोग गरेको छ ।
भाद्र १० गते आएको बाढी र त्यसपछि भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मगर संघ देवदह नगर समितिले देवदहमा बसोबास गर्ने मगर समुदाय तथा सहयोगी दाताबाट संकलित १ लाख ४१ हजार २ सय ६५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको जानकारी देवदह नगरपालिकालाई गराएको हो ।
संघका अनुसार देवदह नगरपालिकाका विभिन्न वडामा रहेका मगर संघका वडा समितिहरू तथा अन्य सहयोगी दाताबाट उक्त रकम संकलन गरिएको हो । संकलित रकममध्ये वडा नं १ बाट ५ हजार, वडा नं. २ बाट १५ हजार, वडा नं. ३ बाट ११ हजार ४ सय ५५, वडा नं. ४ बाट २९ हजार ६ सय, वडा नंं ५ बाट ५ हजार, वडा नं. ६ बाट ३ हजार २ सय २०, वडा नंं ७ बाट १० हजार १ सय १०, वडा नं. ८ बाट १३ हजार १ सय ५, वडा नंं ९ बाट १० हजार, वडा नं. १० बाट ५ हजार र वडा नं. ११ बाट ८ हजार रुपैयाँ प्राप्त भएको संघले जनाएको छ ।
त्यसैगरी अन्य सहयोगी दाताबाट २५ हजार ३ सय ४५ रुपैंया सहयोग प्राप्त भएको संघका अध्यक्ष किसनबहादुर थापाले जानकारी दिए । बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको थापाले बताए । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको पुनःस्थापना तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको संघले जनाएको छ ।
आर्थिक सहयोग संकलन तथा हस्तान्तरण कार्यमा नेपाल मगर संघ देवदह नगर समितिका सचिव चोलीमाया राना, कोषाध्यक्ष कुल बहादुर आले र अध्यक्ष किसन बहादुर थापाको भूमिका रहेको थियो । संघले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु समुदायको साझा दायित्व भएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology