देवदह । रुपन्देहीको देवदहमा विविध कार्यक्रमको आयोजना गरि धुमधामका साथ मगर स्थापना दिवस मनाइने भएको छ । नेपाल मगर संघ देवदह नगर समितिले ४३औं मगर स्थापना दिवस फाल्गुन १५ को अवसरमा विभिन्न कार्यक्रम गर्न लागेको मङ्लवार पत्रकार भेटघाट मार्फत जानकारी गराइएको हो ।
यस बर्ष देवदह–१ राजावारीमा स्थापना दिवस मनाउन लागिएको र सोही अवसरमा बृहत् रक्तदान, जेष्ठ नागरिकलाई सम्मान, मगर समुदायबाट लोकसेवा आयोगमा नाम निकाल्न सफल तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने मगर संघ देवदह नगर समितिका अध्यक्ष मनबहादुर रानाले जानकारी दिए ।
यसैगरी स्थापना दिवसको अवसरमा विपन्न एवम् जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, मगर सँस्कृति झल्कने कौडा, घाटु, सोरठी, सालैजो, झ्याउरे नाच प्रस्तुत गर्ने र कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने अध्यक्ष रानाले बताए । मौलिक खानाका परिकारका स्टलहरु रहने तथा राष्ट्रिय कलाकारहरु युवराज मगर, नितु पुन मगर र रुपी सिंजाली मगरको विशेष प्रस्तुति रहने सचिव मिलन माश्की रानाले जानकारी दिए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सह–अध्यक्ष दल बहादुर विरकट्टाले नेपाल बहुभाषिक, बहुधर्म, बहुजातीय मूलुक भएकोले भाषा, धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने बताए । राज्यले भाषा सम्बन्धि स्पष्ट नीति बनाउने र कार्यान्वयन गर्ने पहिलो कर्तव्य भएकोले नागरिकले राज्यसंग सम्बन्धित समुदायको भाषा, संस्कृतिको पहिचानको लागी पहल र खबरदारी गर्नुपर्ने बताए ।
मगर एकता दिवस सफल बनाउन विभिन्न उप–समितिहरु बनाएर तयारी गरिएको र तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । मगर संघका देवदह नगर अध्यक्ष मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किशन बहादुर थापाको स्वागत र सचिव मिलन माश्की रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology